नयाँ पार्टीप्रति अर्थमन्त्रीको टिप्पणी : कति टिक्छन् हेरौँला
काठमाडौँ, ३० असार | अर्थमन्त्री तथा कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पुराना पार्टीहरूले केही गरेनन् भनेर आएका नयाँ पार्टी टिक्न नसक्ने टिप्पणी गरेका छन् ।
एक कार्यक्रममा बोल्दै मन्त्री महतले यिनीहरुले केही गर्दैनन् भनेर आएका नयाँ पार्टीहरू धेरै समय नटिक्ने दाबी गरेका हुन् । उनले दुःखमा, सुखमा १० औँ वर्ष जेल, प्रवासन, पुलिसको लाठी सहेर पुराना पार्टी निर्माण भएको भन्दै यस्तै समस्या नयाँ प्रवृत्तिहरुले भोग्नुपर्यो भने कति टिक्छन् हेरौँला भन्दै प्रश्न गरे ।
‘जताजता पात हल्लियो, त्यता त्यतै कुरा हामी गर्दैनौँ, अहिले नयाँ नयाँ प्रवृत्तिहरु यिनीहरुले गर्दैनन्, हामी गर्छौं भनेर आएका छन्, हामी दुःखमा, सुखमा, झरीमा पनि खटेर बनेको पार्टी हो नेपाली कांग्रेस,’ उनले भने, ‘यस्तै समस्या नयाँ प्रवृत्तिहरुले भोग्नु पर्यो भने कति टिक्छन् हेरौँला ।’
अर्थमन्त्री महतले पार्टीका महामन्त्रीप्रति लक्षित गर्दै पार्टी र पार्टीका नेताको आलोचना पार्टीको केन्द्रिय समितिमा गर्न चुनौती दिए । उनले सामाजिक सञ्जालमा पार्टीको आलोचना गरेर पार्टी निर्माण हुन नसक्ने बताए ।
यस्तै, मन्त्री महतले सरकार सशुासन, आर्थिक परिवर्तन, रुपान्तरणको पक्षमा रहेको बताए । उनले आर्थिक रुपान्तरण, विकासका लागि अफ्ठ्यारो समयमा निर्णय पनि लिन सक्ने बताएका थिए ।



















