भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा को व्यक्ति पर्दैछन् भन्ने मुख्य होइन, सरकारले फाइल खोल्दा कांग्रेसले तागत दिनुपर्छ : महामन्त्री शर्मा
काठमाडौं ,०८ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवासको जग्गा प्रकरणको फाइल सरकारले खोलेको बेलामा नेपाली कांग्रेसले तागत दिनुपर्ने बताएका छन् । गत मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा सोमबार सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै यी दुई मुद्दामा को व्यक्ति पर्दैछन् भन्ने मुख्य कुरा नभएको बताए ।
‘भ्रष्टचारविरुद्ध फाइल खुलेको छ। व्यक्ति को पर्दैछन् भन्ने मुख्य कुरा होइन। नक्कली शरणार्थी या ललिता निवास सबैको फाइल खुलेको छ,’ महामन्त्री शर्माले भने, ‘सरकारले फाइल खोल्दै गर्दा त्यसलाई तागत दिने काम कांग्रेसले गरेको छ।’ भ्रष्टाचारविरुद्धको कानुन कांग्रेसकै नेतृत्वमा बनेकोले कार्यान्वयन गर्ने दायित्व पनि कांग्रेसकै भएको पनि शर्माको भनाइ छ ।
महामन्त्री शर्माले तत्काललाई हाल सत्तामा रहेको वाम–लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाएर जानुको विकल्प नरहेको बताएका छन्। ‘गठबन्धनलाई बलियो बनाएर जाने र निरन्तरताको खोजीको प्रतिबद्धता हामीबीच हुनुपर्छ’, उनले भने, ‘साथीहरु २०८४ सालको चुनावको पनि कुरा पनि गर्नु हुन्छ। तर ०८४ को चिन्ता ०८३ लागेपछि गरौँला। अहिलेलाई गठबन्धनमै अघि बढ्ने हो।’
कांग्रेसले राम्रा कुराको अपनत्व र नराम्रा कुराको आलोचना ग्रहण गर्दै अघि बढ्नु पर्छ।’ बैठकमा जवाफ दिने क्रममा शर्माले आफूहरुले बैठकको सुरुमा पेस गरेको कार्ययोजना कार्यान्वयन हुने गरी पेस गरिएको बताए। उनले सरकारले ल्याएको नागरिकता विधेयकको अपनत्व कांग्रेसले लिने बताए।



















