सुन प्रकरणले अवरुद्ध प्रतिनिधि सभा बैठक चल्ला त सोमबार ?
काठमाडौं , १४ साउन । प्रमुख प्रतिपक्षी नेकपा नेकपाले त्रिभुवन विमानस्थलबाट करिब १०० किलो सुन बाहिरिएको विषयमा स्वच्छ निष्पक्ष छानबिन हुन गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनु पर्ने माग गर्दै १० साउनमा बसेको प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो । बैठक चल्न नदिने संकेत देखेपछि सभामुख देवराज घिमिरेले १५ साउन अर्थात भोलिसम्म स्थगित गरेका थिए ।
बीचका ५ दिनमा संसद् खोल्न प्रयास भएको देखिएन । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । तर, संसद् अवरोध खोल्नेबारे सामान्य कुराकानी भए पनि नेताहरू आ–आफ्नै अडानमा देखिएका थिए ।
प्रधानमन्त्री दाहालले विदेशबाट फर्किने बेलामा हतारमा राजीनामा माग्नु उपयुक्त नभएको बताएका थिए । यसले विपक्षीको मागलाई त्यत्तिकै लत्याउने प्रयास गरेका थिए । आइतबार सार्वजनिक कार्यक्रममा पनि प्रधानमन्त्री दाहालले सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएपछि गठबन्धन भत्काउने प्रयास भइरहेको बताएका थिए ।
समाजवादी मोर्चाका विद्यार्थीहरूको मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विरोधीहरुले गठबन्धन र समाजवादी मोर्चाका नेताहरु भ्रम छर्ने प्रयास गरेको बताए।
उनले भने, ‘हामीले भ्रष्टाचारविरोधी अभियान सुरु गरेपछि गठबन्धनमा फाटो पार्न, समाजवादी मोर्चा बनिसकेपछि यहाँको नेताहरुको बीचमा पनि भ्रम र आशंका सिर्जना गर्ने अनेक खालका कसरतहरु भइराखेका छन्। तर, हामी ति सबै षड्यन्त्रहरुलाई परास्त गर्दै आफ्नो एकतालाई अझै बलियो पार्दै एकअर्काको विश्वासलाई बििलयो पार्दै अगाडि बढ्न नेतृत्वपंक्ति दृढ छ।’
उता एमाले अध्यक्ष ओलीले सरकारको मिलेमतोबिना सियो नछिर्ने विमानस्थलको भन्सारबाट १०० किलो सुन छिर्न नसक्ने बताएका छन् । त्यसैले अनुसन्धानलाई सहज बनाउन अनुसन्धान नटुंगिने बेलासम्म राजीनामा दिनुपर्ने एमालेको अडान छ । तर, विपक्षीको माग पूरा गर्न न त गृहमन्त्रीले नैतिकता देखाउयन तयार छन्, न त प्रधानमन्त्री अनुसन्धान हुने बेलासम्म गृहमन्त्रीलाई बाटो खाली गर्दिन भन्न सक्ने अवस्थामा छन् ।
अझ सत्तारुढ दल कांग्रेसबाटै गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग भएको छ । १० गतेको संसद् बैठकमै नेपाली कांग्रेसकै सांसद सुनिल शर्माले दुई मन्त्रीले राजीनामा नदिए संसदमै आमरण अनसन बस्ने बताएका थिए ।
आइतबार मात्रै कांग्रेस सांसद तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले सुनको अनुसन्धान सहज रुपमा नभए गृहमन्त्रीको राजीनामा माग्न बाध्य हुने बताएका थिए ।
दुवै पक्ष आ–आफ्नै अडानमा रहेको र मिलाउने प्रयास कतैबाट नभएकाले सोमबारको संसद बैठक सञ्चालन हुने सम्भावना देखिन्न् ।



















