लुम्बिनी एमालेमा विष्णु र शंकरको गुटगत प्रतिस्पर्धाको तयारी
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन आगामी भदौं १६ र १७ मा हुँदैछ । अधिवेशन आउन एक साता मात्रै बाँकी रहँदा पनि नेतृत्व सर्वसहमति हुने सम्भावना कम छ । एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल दुबै नेताका गृहप्रदेश भएका कारण पनि यो प्रदेशको एमाले प्रदेश अिधवेशनलाई एमालेजनहरुले निक्कै चासोका साथ हेरेका छन् । पोखेल र पौडेल दुवै एक अर्कालाई पार्टी संगठनमा प्रतिस्पधीृ ठान्छन् । सोहीकारण पनि आफ्नो गृहप्रदेशमा पनि उनीहरु आफु निकटका नेतालाई प्रदेश अध्यक्ष जिताउन भित्री दौडमा छन् ।
पौडेलले अहिलेकै प्रदेश अध्यक्ष राधाकृष्ण कँडेललाई अगाडी सार्न खोजेका छन् । पाल्पाका कँडेललाई रोक्न महासचिव पोखरेल निकटका नेताहरुले भने हरिप्रसाद रिजाललाई उम्मेदवार बनाउन चाहेका छन् । यद्यपि अहिलेका प्रदेश सचिव लक्ष्मण आचार्य पनि अध्यक्षमा प्रतिस्पर्धा गर्ने सुर कसिरहेका छन् । दाङका आचार्य महासचिव पोखरेलसँग सन्तुष्ट नरहेकाले पनि उम्मेदवारी दिन खोजिरहेका छन् । शनिबार सबै पालिका र जनसंगठनबाट प्रतिनिधि चयन भएका छन् । चयन भएका प्रतिनिधिहरुको अन्तिम सूची तयार पार्ने क्रम चलिरहेको नेताहरुले जनाएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको अधिवेशनका लागि लुम्बिनीका १०९ पालिका र २३ जनसंगठनबाट एक हजार बढी प्रतिनिधि चयन भएका छन् । तर प्रतिनिधि चयन अगाडि नै प्रदेशको नेतृत्वमा पुग्ने आकांक्षा राखेका नेताहरुको लबिङ तीव्र बनिसकेको नेताहरुको भनाई छ । आकांक्षी तीन जना देखिएपनि मुख्य प्रतिस्पर्धा कँडेल र रिजालबीच हुने नेताहरु बताउँछन् । कँडेल र रिजाल दुबैले चुनाव जित्ने दाबी गरिरहेका छन् । रिजालले अध्यक्ष जित्नेकै निम्ति पार्टीको केन्द्रीय कमिटीबाट प्रदेशमा आउने तयारीमा लागेका हुन् ।
महासचिव पोखरेल निकट रिजाल यसअघि प्रदेशसभा सदस्य थिए । उनलाई शंकर पोखरेलले मुख्यमन्त्री हुँदा स्वास्थ्य मन्त्री बनाएका थिए । तर गत वर्ष मंसिरको चुनावमा नेपाली कांग्रेसका रोज राणासँग रिजाल पराजित भएका थिए । उपाध्यक्ष पौडेल निकट कँडेल भने प्रदेशको नेतृत्वमा रहनकै लागि केन्द्रीय सदस्य नबनेको बताउँछन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै समर्थनमा आफू प्रदेश अध्यक्ष बनेकाले फेरि पनि नेतृत्वमा आउने कँडेलको दावी छ । एमालेले यसपटक प्रदेश कमिटीको संख्या घटाउने नीति लिएको छ । अहिले प्रदेश कमिटीमा ६ सय बढी सदस्य रहे पनि अबको अधिवेशनले २५० मा झार्ने छ ।



















