एमाले लुम्बिनी प्रदेश अधिवेशन आजदेखि, अध्यक्ष ओलीसहितका शीर्ष नेता बुटवल आउँदै
रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन आजदेखि बुटवलमा सुरु हुँदैछ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको उद्घाटनको तयारी पूरा भएको पार्टीले जनाएको छ । प्रथम अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १२ः३० वजे गर्ने कार्यक्रम रहेको बताइएको छ ।
उद्घाटन समारोहमा पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पद्यमा अर्यालका साथै पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहने सो पार्टीले जनाएको छ ।
अधिवेशनको लागि प्रदेशका १२ वटा जिल्लाका १०९ स्थानीय तहबाट गरी १००४ जना प्रतिनिधि छानिएर बुटवल आइपुगेका छन् । सम्मेलनमा रुपन्देहीबाट, १६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीवाट ५२ जना प्रतिनिधि सहभागी हुनेछन् ।
प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार अधिवेशनले यसअघि ५ सय ७६ सदस्यीय रहेको प्रदेश कमिटीलाई २०५ सदस्यीय बनाउनेछ ।अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कंडेल, प्यूठानका हरि रिजाल र दाङका लक्ष्मण आचार्य प्रतिस्पर्धामा छन् । अन्तिममा कंडेल र रिजालबीच नै प्रतिस्पर्धा हुने सम्भावना बलियो छ ।



















