भरतपुर क्यान्सर अस्पतालका लेखा अधिकृत कोइराला घुससहित पक्राउ
चितवन, ०६ साउन । चितवनको भरतपुरमा रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत घुस रकमसहित पक्राउ परेकी छिन् । अस्पतालको लेखा अधिकृत अमृता कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले आज (आइतबार) अपराह्न घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर ७ कटहर चोकस्थित एक रेस्टुरेन्टबाट घुस रकम लिँदै गर्दा कोइरालालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । कोइरालालाई नगद एक लाख ५० हजार रुपैयाँ र चार लाख ५० हजार रुपैयाँको चेक सहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले समावेशी खबरलाई जानकारी दिए । अस्पतालमा आपूर्ति भएको औषधिको भुक्तानीको लागि घुस रकम लिँदै गरेको अवस्थामा लेखा अधिकृत कोइरालालाई अख्तियारले नियन्त्रणमा लिइएको गौतमले बताए ।



















