खैरहनी नगरपालिकाद्वारा अनुदानमा चारवटा ट्र्याक्टर वितरण
चितवन, ३० जेठ । खैरहनी नगरपालिकाले अनुदानमा ट्र्याक्टर वितरण गरेको छ । चालू आर्थिक वर्षको वार्षिक बजेटमा रहेको एक वडा एक कृषि सहकारी कृषि कार्यक्रम अन्तर्गत कृषि सहकारीलाई ट्र्याक्टर, उपकरण , मेसिन अनुदान कार्यक्रम अनुरुप अनुदानमा ट्र्याक्टर वितरण गरिएको हो । खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनिया , उपप्रमुख कविता उप्रेती , प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सापकोटा , आर्थिक समिति संयोजक छत्रनाथ सुवेदी , सुशासन समितीका संयोजक कुल प्रसाद भुषाल लगायतले अनुदानको ट्र्याक्टर हस्तान्तरण गरेका हुन् । खैरहनीको चारवटा कृषि सहकारीलाई ५० प्रतिशत अनुदानमा ट्रयाक्टर , रोटाभेटर र कल्टिभेटेर वितरण गरिएको खैरहनी नगरपालिका कृषि शाखा प्रमुख सृजना श्रेष्ठले जानकारी दिइन् । नगरपालिकाले ट्रयाक्टर अनुदानमा वितरणको लागि सुचना जारी गर्दा ६ वटा सहकारीले निवेदन दर्ता गराएका थिए ।
६ वटामध्य एक सहकारी मापदण्डमा नपरेको र एउटाले लागत सहभागीता अनुरुप ५० प्रतिशत रकम जम्मा नगरेकाले चारवटा सहकारीले मात्रै अनुदानमा ट्र्याक्टर , रोटाभेटर र कल्टिभेटेर प्राप्त गरेका हुन् । खैरहनी नगरपालिका वडा नम्बर २ स्थित रामकोला कृषि सहकारी संस्था लिमिटेड , खैरहनी ३ को नवएकता कृषि सहकारी संस्था लिमिटेड , खैरहनी ९ को गरीबी निवारण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र खैरहनी १२ को कपिया माछापालन सहकारी संस्था लिमिटेडले अनुदानमा ट्याक्टरसहित रोटाभेटर र कल्टिभेटेर प्राप्त गरेका हुन् ।
बोलपत्रको माध्यमबाट ५० हर्ष पावरको ट्र्याक्टरको १२ लाख ८२ हजार ५५० रुपैया , कल्टिभेटरलाई ३६ हजार र रोटाभेटरलाई १ लाख ७४ हजार रुपैयाँमा गरि एकसेटलाई कुल १४ लाख ९२ हजार २५० रुपैयाँ परेको कृषि विकास अधिकृत गौरव न्यौपानेले जानकारी दिए । त्यसको ५० प्रतिशतको हुने रकम ७ लाख ४६ हजार २७५ रुपैयाँ नगरपालिका र सोही बराबरको रकम संस्थाले बुझाएको न्यौपानेले बताए । ट्र्याक्टर हस्तान्तरणको क्रममा बोल्दै उप प्रमुख कविता उप्रेतीले सहकारीले संचालन गर्ने ट्र्याक्टरले सहुलियत दरमा सेवा दिए किसानको लागत घट्ने र किसानहरु कृषि उत्पादन गर्न उत्साहित हुने विश्वास व्यक्त गरिन ।
उनले १३ वटै वडामा एक एक कृषि सहकारी मार्फत कृषि सामाग्री हस्तान्तरण गर्ने र कृषि उत्पादनमा वृद्धि गर्ने लक्ष्य रहेको बताइन् । अनुदानमा पाएर सहकारीले संचालन गरेको ट्रयाक्टरले अन्यको भन्द सहुलियत दरमा काम गर्नुपर्नेमा उप प्रमुख उप्रेतीले सुझाव दिइन् । खैरहनीका नगर प्रमुख शशी कुमार खनियाले पराम्परागत भन्दा आधुनिक कृषि प्रणालीलाई जोड दिनुपर्ने बताए । व्यक्ति विशेषलाई अनुदान दिनुभन्दा सहकारीलाई दिदा संस्थागत हुने , धेरै किसान लाभान्वित हुने भएकोले एक वडा एक कृषि सहकारी अवधारणा ल्याइएको बताए । उक्त अवधारणा अनुसार कम्तिमा एक वडामा एक बलियो ,उपकरण सहितको कृषि सहकारी हुने जसको कारण दीर्घकालीन रुपमा कृषि उत्पादन र बजारिकरणमा सहयोग पुग्ने उनले बताए ।
नगरपालिकाको पहिलो प्रयास स्वरुप ट्र्याक्टर वितरण गरिएको भन्दै नगर प्रमुख खनियाले धेरै सहकारीलाई दिने चाहना हुदाहुदै आवेदन नै कम परेको र दुईवटा प्रक्रियामा समावेश हुन नसकेको भन्दै आगामी दिनमा माग अनुसारको थप आधुनिक उपकरणहरु दिने प्रतिबद्धता व्यक्त गरे ।


















