विद्युत व्यवसायी सङ्घ चितवनद्वारा निःशुल्क आँखा शिविर
चितवन, १६ साउन । विद्युत व्यवसायी सङ्घ चितवनको आयोजनामा तथा चितवन आँखा अस्पताल प्रा.लि.को सहकार्यमा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ। विद्युत व्यवसायी सङ्घ चितवनका अध्यक्ष विष्णुप्रसाद चालिसेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा चितवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरंजीवी सुवेदीप्रमुख अतिथि रहनुभएको थियो।
साथै, चितवन उद्योग वाणिज्य सङ्घका तृतीय उपाध्यक्ष तथा वस्तुगत समन्वय समितिका संयोजक नारायण प्रधान र चितवन आँखा अस्पतालका संचालक प्रदीप पौडेल विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रम चितवन आँखा अस्पताल प्रा.लि.को भरतपुरस्थित प्राङ्गणमा सम्पन्न भएको थियो।
कार्यक्रममा विद्युत व्यवसायी सङ्घ चितवनका निवर्तमान अध्यक्ष, पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, नेपाल विद्युतिय व्यवसायी महासङ्घका केन्द्रिय सदस्यहरू तथा कार्यसमितिको सहभागिता रहेको थियो। शिविरमा १४९ जनाको आँखा परीक्षण गरिएको थियो । कार्यक्रमको समन्वय विद्युत व्यवसायी सङ्घ चितवनका द्दितीय उपाध्यक्ष गोर्ख प्रसाद सापकोटाको संयोजकत्वमा गरिएको थियो।


















