खैरहनीले ३६ जना युवा स्वंयमसेवक शिक्षक नियुक्ति गरि विद्यालय पठायो
चितवन,०४ भाद्र । खैरहनी नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न ३७ जना युवा स्वंयमसेवक शिक्षकलाई नियुक्त गरेको छ । यस अर्थिक बर्षमा खैरहनीका विभिन्न २५ वटा विद्यालयमा गएर अध्यापन गराउन युवा स्वंयमसेवक शिक्षक नियुक्त गरेको खैरहनीका नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए । युवा स्वंयमसेवक शिक्षकको लागि आवेदक दिएका २ सय १० जनामध्य ३६ जना छनौट गरि आज नियुक्ति पत्रसंगै विद्यालय पठाइएको उनले बताए । आज छनौट भएकाहरुमा नि.मा.वि तहमा ८ जना , प्रा.वि तहमा २१ जना र प्रारम्भिक वालविकास तहमा ७ जना रहेका छन् ।
आज नियुक्ति पाएकाहरुलाई खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनिया , उप प्रमुख कविता उप्रेती , प्रमुख प्रशासकिय अधिकृत विष्णु प्र.सापकोटाले नियुक्तिपत्र प्रदान गरेका थिए । स्वंयमसेवक शिक्षक नियुक्ति तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत विष्णु प्र.सापकोटाले नाम स्वंयमसेवक शिक्षक भएपनि नगरपालिकाले ठूलो जिम्मेवारीको साथ विद्यालयमा खटाएकोले इमान्दारिताको साथ जिम्मेवारी वहन गर्न आग्रह गरे ।
उनले पढाउने विषयवस्तु मात्रै नभएर शिक्षकको बोलीचाली , शैली , शिक्षकको गतिविधिबाट समेत विद्यार्थीहरुले धेरै कुरा सिक्ने भएकाले त्यसतर्फ समेत ध्यान दिन उनले आग्रह गरे ।
खैरहनी नगरपालिका उप प्रमुख कविता उप्रेतीले स्वंयमसेवक शिक्षकहरुलाई धेरै सेवासुविधा दिन नसकेपनि आफुलाई समेत अनुभव हुने र निखारता ल्याउने अवसर समेत रहेको बताइन् ।
खैरहनीका नगर प्रमुख शशि कुमार खनियाँले युवा स्वंयसेवक शिक्षकहरुलाई विद्यालयको शैक्षिक गुणस्तर वृद्धि होस् भनेर पठाइएको बताए । विद्यालयमा भएका शिक्षकलाई पालो दिनलाई स्वंयमसेवक शिक्षक नियुक्त नगरेको प्रष्ट पार्दै उनले पूर्ण जिम्मेवार भएर पठनपाठनमा लाग्न आग्रह गरे ।


















