खैरहनीमा बा आमा स्वास्थ्य कार्यक्रम, ६६ जनाको स्वास्थ्य परिक्षण
चितवन, २५ भाद्र । खैरहनीमा संचालित बाआमा स्वास्थ्य कार्यक्रम अन्तर्गत आज ६६ जना वृद्ध वृद्धाको स्वास्थ्य परिक्षण भएको छ । खैरहनी नगरपालिकाले यस आर्थिक वर्षको बाआमा स्वास्थ्य कार्यक्रम खैरहनी नगरपालिका वडा नम्बर ५ बाट सुरुवात गरेको हो । पहिलो दिनमा ३७ महिल र २९ जना पुरुषहरुको स्वास्थ्य परिक्षण गरिएको खैरहनीका जनस्वास्थ्य निरीक्षक नवीन अधिकारीले जानकारी दिए । कार्यक्रमको खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनिया उद्घाटन गरेका थिए ।
अहिले धेरै वृद्धबृद्धाहरुलाई पछिल्लो समय नसर्ने रोगको समस्या बढी भएको भन्दै समयमै सुगर प्रेसर जाँच गर्दा समेत स्वास्थ्य अवस्थाको जानकारी हुने र समयमै औषधि उपचार गर्न पाइने नगर प्रमुख खनियाले बताए । कार्यक्रममा खैरहनी ५ का वडा अध्यक्ष छत्रनाथ सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । बाआमा स्वास्थ्य कार्यक्रम अन्तर्गत वृद्ध वृद्धाहरुको गाउँ घरमै पुगेर सुगर , प्रेसरको जाँच गर्ने तथा अन्य नियमित सेवन गर्ने गरेको औषधि र कुनै समस्या भए त्यसको जानकारी लिने र परामर्श दिने गरेको खैरहनीका स्वास्थ्य शाखा प्रमुख भोजराज खनालले जानकारी दिए ।
कार्यक्रममा खैरहनीका प्रमुख प्रशासकीय अधिकृत , खैरहनी नगर अस्पतालका प्रमुख डा गौरव घिमिरे सहित स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।




















