खैरहनी ७ का महिलाहरुलाई एड्वानद्वारा तरकारी खेती तालिम
चितवन, २८ असोज । खैरहनी नगरपालिका वडा नम्बर ७ का महिलाहरुलाई नेपाल दलित महिला उत्थान संघ ( एड्वान) ले तरकारी खेती तालिम दिएको छ । करुणा ट्रष्टको सहयोगमा नेपाल दलित महिला उत्थान संघ (एडवान) ले खैरहनी ७ का १५ जना महिलाहरुलाई तरकारी खेती तालिम दिएको हो । महिलाको लागि सुधारिएको जिविकोपार्जन तथा आर्थिक सुधार परियोजना अन्तर्गत मौसमी तथा वेमौसमी तरकारी खेती सम्बन्धी सात दिने तालिम दिएको एडवानकी सामाजिक परिचालिका सुनिता दराईले जानकारी दिइन् । खैरहनी ७ को १५ जना महिला सहभागी आदर्श कृषि महिला समूहलाई तालिमसँगै विउ पूजी समेत प्रदान गरिएको छ । तालिमको समापन कार्यक्रमको अवसरमा उक्त समूहलाई व्यवसायीक तरकारी खेतीको लागि विउ पूजी स्वरुप ५० हजार रुपैयाँ प्रदान गरिएको एडवानकी उपाध्यक्ष तिर्थ कुमारी वि.कले जानकारी दिइन् । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले उक्त समूहलाई विउ पूजी हस्तान्तरण गर्नुको साथै तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
एडवानकी उपाध्यक्ष तिर्थ कुमारी विकको अध्यक्षतामा भएको समापन कार्यक्रममा एडवानकी सामाजिक परिचालिका कमला पन्थी , खैरहनी नगरपालिका कृषि शाखा प्रमुख एवम् तालिमको प्रशिक्षक सिर्जना श्रेष्ठ , खैरहनी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मनेजर महतो लगायतको तालिममा सिकेको विषयलाई व्यवहारमा उतार्न र उदारणिय काम गर्न सुझाव दिए । सो अवसरमा प्रशिक्षार्थी गिता ढकालले तालिममा सिकेका विषयवस्तुको बारेमा जानकारी दिइन् । तालिममा विभिन्न मौसमी तथा वेमौसमी तरकारी खेती जस्तौ डल्ले खुर्सानी , भेडे खुर्सानी , आलु , करेला , लौका , टमाटर , चुकन्दर लगायतको खेतीको विषयमा प्रशिक्षण पाएको ढकालले बताइन् । तालिममा माटो तयारी , विउ व्याड तयारी , विउ रोप्ने तारिका , विभिन्न रोग तथा किराको बारेमा जानकारी तथा त्यसको नियन्त्रणका उपाय , कम्पोस्ट मल बनाउने तरिका , जैविक झोल मल बनाउने तरिका लगायतको विषयमा प्रशिक्षण पाएको उनले बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि खैरहनीका नगर प्रमुख शशि कुमार खनियाँले एडवानले महिलाहरुलाई लक्षित गरि आर्थिक सुधार तथा जिविकोपार्जनसँग जोडिएको यस प्रकारको तालिमले महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउने विश्वास व्यक्त गरे । उनले पैसा नहुँदा हेपिनु पर्ने , घरभित्र दबेर बस्नुपर्ने स्थितलाई यस किसिमको तालिमको सहायताले तोड्न सकिने र घरमा आम्दानीको स्रोत समेत हुने उनले बताए । खैरहनी क्षेत्र कृषिको लागि उर्वर रहेको साना साना समूहमा एकतावद्द रुपमा काम गरे राम्रो उत्पादन गरेर आर्थिक रुपमा सवल हुनसक्नेमा जोड दिए । नगर प्रमुख खनियाँले सिकेको कुरालाई व्यवहारमा लागु गर्दै आम्दानीको स्रोत बनाउनुपर्ने बताउदै त्यसको लागि आवश्यक थप सहयोग गर्न नगरपालिका तयार रहेको प्रतिवद्धता व्यक्त गरे । पछिल्लो समयको घटनाक्रमले नगरपालिकाले विभिन्न क्षेत्रको बजेट कटौती गर्नुपर्ने अवस्था रहेतापनि शिक्षा , स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको बताए ।



















