राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने अभियान सुरु
चितवन, २० कार्तिक । सरकारले आर्थिक वर्ष २०८२/८३ अन्तर्गतको पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने कार्यक्रम आजदेखि देशभर सुरु गरेको छ।
मधेस प्रदेशको राजधानी जनकपुरधाम–२३, विन्दहीस्थित खोप केन्द्रमा आयोजित कार्यक्रममा औपचारिक रूपमा अभियानको उद्घाटन गरिएको हो।
स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवका अनुसार, छ महिनाभन्दा माथिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदैछ। यस चरणमा सरकारले ५ वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाखलाई जुकाको औषधी खुवाउने लक्ष्य राखेको छ।
बालबालिकाले दैनिक आहाराबाट पर्याप्त भिटामिन प्राप्त गर्न नसक्ने भएकाले नेपाल सरकारले वि.सं. २०५० सालदेखि हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको हो। स्वास्थ्यकर्मी र स्वयंसेवकमार्फत घर–घरमा पुगेर आज र भोलि देशभर औषधी खुवाउने अभियान सञ्चालन हुने भएको छ।



























