कङ्गोमा नयाँ इबोला प्रकोप, मृत्यु हुनेको संख्या ८० पुग्यो
चितवन, ०२ जेठ । लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा फैलिएको नयाँ इबोला प्रकोपका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । कङ्गोको स्वास्थ्य मन्त्रालयले शनिबार उक्त जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले जारी गरेको विज्ञप्तिअनुसार विशेष प्रयोगशाला परीक्षणमार्फत गत साताको अन्त्यतिर इबोला भाइरसका आठ प्रारम्भिक संक्रमित पुष्टि भएका छन् । संक्रमण रुवाम्पारा, मोङ्ग्वालु र बुनिया स्वास्थ्य क्षेत्रमा फेला परेको जनाइएको छ ।
स्वास्थ्य अधिकारीहरूका अनुसार हाल कम्तिमा २४६ शंकास्पद संक्रमितको निगरानी भइरहेको छ ।
प्रकोप नियन्त्रणका लागि कङ्गो सरकारले जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरेको छ । साथै, विकेन्द्रीकृत निदान परीक्षण विस्तार, महामारी निगरानी सुदृढीकरण तथा प्रभावित क्षेत्रमा द्रुत प्रतिक्रिया टोली परिचालन गरिएको जनाएको छ ।
अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सिडिसी) ले उत्तरपूर्वी इटुरी प्रान्तको अवस्थालाई क्षेत्रीय स्वास्थ्य आपतकालका रूपमा वर्गीकृत गरेपछि सरकारले थप सतर्कता अपनाएको हो ।




















