रास्वपाद्वारा स्वास्थ्य विभाग केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने घोषणा
चितवन, २३ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिका तहसम्म विस्तार गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा. तोसिमा कार्कीका अनुसार रास्वपाले विभागलाई सशक्त बनाउँदै नीतिगत सुधारका काम अघि बढाइरहेको छ।
उनले अस्पतालहरूमा देखिने लामो लाइन, महँगो उपचार सेवा, र गाउँगाउँमा पर्याप्त डाक्टर तथा स्वास्थ्यकर्मीको अभाव उपचारको कमी नभई स्वास्थ्य प्रणालीकै कमजोरीको परिणाम भएको बताइन्।
रास्वपाले यही समस्या समाधान गर्न स्वास्थ्य तथा जनसंख्या विभागमार्फत काम गरिरहेको र स्वास्थ्य नीतिमा आमूल परिवर्तन ल्याउने लक्ष्य लिएको डा. कार्कीले जानकारी दिइन्।
नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्न सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले डाक्टर, नर्स, स्वास्थ्यकर्मी, जनस्वास्थ्य विज्ञ, स्वास्थ्य प्रविधिका इन्जिनियर तथा व्यवस्थापकहरूलाई विभागमा आबद्ध हुन आह्वान समेत गरेकी छन्।

























