मधेस सरकार गठनविरुद्ध सात दलको आन्दोलन जारी, धर्ना र प्रदर्शनका कार्यक्रम तय
चितवन, २७ कार्तिक । मधेस प्रदेशमा सरकार गठनविरुद्ध मधेस प्रदेशका सात राजनीतिक दलका प्रदेशसभा सदस्यहरू आज पाँचौँ दिन पनि मधेस भवन अगाडि धर्ना दिएका छन्। धर्ना बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको थियो।
नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य कनिष पटेलका अनुसार आजै जनकपुरधाममा सातै दलका सदस्य तथा कार्यकर्ताहरूको सहभागितामा मोटरसाइकल र्याली आयोजना हुने छ। त्यस्तै शनिवार बेलुका मशाल जुलुस प्रदर्शन र आइतबार दिनभरी सडक प्रदर्शनको कार्यक्रम तय गरिएको छ।
प्रदेशमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेपछि मधेस भवन अशान्त भएको थियो। नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरू आन्दोलनमा छन्।
मङ्गलवार साँझ नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्न जाँदा बाहिर प्रदर्शन चर्कियो। त्यस क्रममा प्रहरीको लाठी चार्जमा परी १६ प्रदर्शनकारी घाइते भएका थिए।
घटनाको विरोधमा सात दलीय गठबन्धनले आन्दोलन जारी राख्ने घोषणा गरेको छ। यसबीच, प्रदेश प्रमुख सुवेदीले पनि पदमुक्त भइसकेको छ।























