गृहमन्त्री अर्याल: निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण सम्पन्न गराउने मुख्य प्राथमिकता
चितवन, ०४ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको मुख्य प्राथमिकता आगामी निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण सम्पन्न गराउने रहेको बताउनुभएको छ।
बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक समीक्षा बैठकमा मन्त्री अर्यालले मन्त्रालयका सबै निकायलाई निर्वाचन तयारी र जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो।
मन्त्री अर्यालले सरकारी कामकाज छरितो, सरल, र विद्युतीय माध्यमबाट व्यवस्थित गर्न तथा अभिलेख व्यवस्थापन चुस्त राख्न निर्देशन दिनुभयो। उनले सेवाग्राहीलाई अनावश्यक झन्झटबाट जोगाउने र सेवा प्रदायक निकायलाई कार्य प्रक्रियामा सुधार गर्न आग्रह गर्नुभयो।
अर्थ मन्त्रालयबाट आवश्यक बजेट सहजीकरणको लागि धन्यवाद दिँदै, मन्त्री अर्यालले आगामी निर्वाचनको वातावरण निर्माण र सीमापार अपराध, लागु औषध दुरुपयोग, ओसारपसार, तथा सडक दुर्घटना न्यूनीकरणमा सुधार ल्याउन पनि निर्देशन दिनुभयो।
साथै, गृह सचिव रामेश्वर दंगालले सुशासन, पारदर्शिता, र मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम प्राथमिकतामा राखेर काम गर्न सबै निकायलाई निर्देशन दिनुभयो।
























