निर्वाचनका दिन अत्यावश्यक सवारीलाई पास नचाहिने, एकीकृत डेस्कबाट पास वितरण हुँदै
चितवन, १७ फाल्गुण । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन केही सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने निर्वाचन आयोगले स्पष्ट गरेको छ।
आयोगका अनुसार दमकल, एम्बुलेन्स, शववाहन, खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनले पास बिना सञ्चालन गर्न पाउनेछन्। त्यस्तै दूरसञ्चार, खानेपानी, विद्युत् र ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन तथा अस्पताल सेवा सम्बन्धी सवारी (चिकित्सक र स्वास्थ्यकर्मीलाई घर–अस्पताल आवतजावत गराउने) लाई पनि पास आवश्यक नपर्ने जनाइएको छ।
अन्तर्राष्ट्रिय र आन्तरिक हवाई सेवाका यात्रु ओसारपसार गर्ने सवारीसाधन (विमानस्थल–घर/होटल र घर/होटल–विमानस्थल) लाई पनि छुट दिइएको छ। साथै हिँडडुल गर्न नसक्ने गर्भवती तथा सुत्केरी महिला, शिशु बोकेकी महिला, क्रियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, अशक्त ज्येष्ठ नागरिक मतदाता र उनीहरूको एक जना सहयोगी बोकेका सवारीसाधनलाई पनि निर्बाध सञ्चालन गर्न दिइनेछ।
‘सिडी’ नम्बर प्लेट भएका कूटनीतिक नियोगका सवारीसाधन, आयोगबाट जारी परिचयपत्र बोकेका पर्यवेक्षकका सवारी (परिचयपत्रमा तोकिएको क्षेत्रभित्र मात्र), राष्ट्रिय मानवअधिकार आयोगका अनुगमन सवारी तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन पनि सहज रूपमा सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ।
यसैबीच, निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रतिनिधि सम्मिलित एकीकृत सवारीसाधन आवागमन डेस्क आयोग परिसरमै स्थापना गरिएको छ। उक्त डेस्कमार्फत काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयबाट जारी हुने सवारी पाससमेत वितरण भइरहेको आयोगले जनाएको छ।



















