नसच्यिए अर्को निर्वाचनसम्म कम्युनिष्ट सकिन सक्छन् : गोकुल बाँस्कोटा
चितवन, २८ फाल्गुण । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपालमा कम्युनिष्ट आन्दोलन समाप्त नभएको तर आफूहरू नसच्यिए आगामी निर्वाचनसम्म ठूलो क्षति हुनसक्ने बताएका छन्।
एमाले र माओवादी केन्द्रबीच एकीकृत भएर बनेको नेकपा फुटेपछि कम्युनिष्ट शक्तिप्रति जनताको उत्साह घट्दै गएको उनले उल्लेख गरेका छन्। तर कम्युनिष्ट आन्दोलन पूर्ण रूपमा अन्त्य भइसकेको भने नभएको उनको भनाइ छ।
सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै बाँस्कोटाले पाँच वर्षअघि नै नेकपाको उत्कर्ष र पतनको समय आउने बताएका थिए। त्यतिबेला वाम शक्तिहरू एकताबद्ध हुँदा जनतामा अभूतपूर्व उत्साह देखिएको तर विचार, संगठन र व्यवहार कमजोर आधारमा चलेको उनले बताएका छन्।
उनले सोभियत संघबाट पाठ नसिकिएको र चिनियाँ मोडेलको नक्कल पनि सफल हुन नसकेको टिप्पणी गर्दै चेतावनी दिएका छन्— “कम्युनिष्ट आन्दोलन सक्किएको छैन, तर नसच्यिए अर्को पटक सकिन सक्छ।”


















