घुसखोरी र प्रशासनिक झन्झट अन्त्य गर्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता
चितवन, १६ चैत्र । अर्थमन्त्री स्वर्णिम वाग्ले ले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी समस्याको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले अब निजी क्षेत्रले घुस दिनु नपर्ने, सरकारी निकायमा लामो लाइन बस्न नपर्ने र सामान्य आर्थिक गतिविधिका कारण थुनिनु नपर्ने स्पष्ट पारे।
आज नेपाल उद्योग वाणिज्य महासंघ का प्रतिनिधिसँगको भेटमा मन्त्री वाग्लेले निजी क्षेत्रलाई सरकारको सहयात्रीका रूपमा अघि बढाउने नीति लिइएको बताए। “अब निजी क्षेत्रले दुःख पाउने अवस्था अन्त्य हुन्छ, हामी तपाईंहरूको सहयात्री हौँ,” उनले भने।
लगानी विस्तार र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले लगानी वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्ने बताए। साथै, भ्रष्टाचार नियन्त्रणमा आफू दृढ रहेको जनाउँदै उनले भने, “म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्नँ।”




















