खैरहनीमा मृगौला तथा कलेजो रोगको निशुल्क स्क्रिनिङ शिविर ,१ हजार ८ सय बढीको रक्त परिक्षण
चितवन , २४ चैत । खैरहनी नगरपालिकाले विश्व स्वास्थ्य दिवस २०२६ को अवसरमा मृगौला तथा कलेजो रोगको निशुल्क स्क्रिनिङ शिविर संचालन गरेको छ । नगरपालिकाले मृगौला तथा कलेजो रोगको निशुल्क स्क्रिनिङको लागि ३५ वर्षमाथीका नगरवासीहरुको आज रक्त परिक्षण गरेको हो । खैरहनीको चार स्थानमा संचालन गरिएको निशुल्क रक्त परिक्षण शिविरमा १ हजार ८ सय ४७ जनाले सेवा लिएका छन् ।
खैरहनी नगर अस्पताल , चैनपुर स्वास्थ्य चौकी , कठार स्वास्थ्य चौकी र कुमरोज स्वास्थ्य चौकीमा रगतको नमूना संकलन गरिएको थियो । नगर अस्पतालमा आयोजित शिविर उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख शशिकुमार खनियाँले पछिल्लो समय मृगौला तथा कलेजो रोगका विरामीहरुको संख्या बढ्दै गएको विषयलाई मध्यनजर गर्दै समयमै जाँच गर्न सके मृगौला तथा कलेजो पूर्णरुपमा खराव भएर ज्यान गुमाउन नपरोस् भनेर निशुल्क रक्त परिक्षण शिविर संचालन गरिएको बताए । खैरहनी नगर अस्पताल प्रमुख डा.सुजता गौतमले मृगौला तथा कलेजो रोग लाग्दा सुरुको अवस्थामा खासै लक्षण नदेखिने र समस्या जटिल भएपछि मात्रै लक्षण देखिने हुदाँ बेला बेलामा परिक्षण गर्नुपर्ने बताइन् । शिविरको अवसरमा खैरहनी नगर अस्पतालमा ६ सय २१ , चैनपुर स्वास्थ्य चौकीमा ३ सय ७० , कठार स्वास्थ्य चौकीमा ४ सय २९ र कुमरोज स्वास्थ्य चौकीमा ४ सय २७ जनाले सेवा लिएको खैरहनी नगरपालिकाका जनस्वास्थ्य निरिक्षक नविन अधिकारीले जानकारी दिए ।


























