मुग्लिनमा पहिरो पन्छाउन सकस, नारायणगढ–मुग्लिन सडक पूर्ण सञ्चालन हुन अझै समय लाग्ने
चितवन, १२ साउन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिन नजिक खहरे खोलामा खसेको सुक्खा पहिरो पन्छाउन कठिनाइ भएको छ। पहिरोका कारण आज बिहानदेखि उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।
इच्छाकामना गाउँपालिका–७ स्थित मुग्लिन नजिक एकाएक सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको डिभिजन सडक कार्यालयले जनाएको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो निरन्तर खसिरहेकाले सफाइ कार्यमा समस्या भइरहेको छ।
उनले केहीबेरअघि आंशिक रूपमा पहिरो हटाएर आकस्मिक सवारीसाधनलाई आवतजावत गराइएको जानकारी दिँदै दुईतर्फी रूपमा सडक सञ्चालनमा आउन अझै केही समय लाग्ने बताए।
“थप पहिरो नखसेमा दिउँसोसम्म सडक सफा गरेर रोकिएका सवारीसाधन सञ्चालन गर्ने तयारी छ,” इन्जिनियर घिमिरेले भने।
पहिरोस्थल मुग्लिन बजारबाट नारायणगढतर्फ करिब ७०० मिटर दूरीमा रहेको छ। करिब ४० मिटर माथिबाट ढुङ्गासहितको पहिरो खसेर सडकको झण्डै २० मिटर क्षेत्र ढाकेकाले सफाइ कार्य चुनौतीपूर्ण बनेको छ।
सडक कार्यालयका अनुसार नयाँ डाँडोबाट पहिरो खस्न सुरु भएकाले यस वर्षाको मौसममा उक्त क्षेत्रमा थप पहिरोको जोखिम रहने सम्भावना रहेको छ।





















