खैरहनीको कठारमा निःशुल्क स्वास्थ्य शिविर, २ सय ८० जनाको स्वास्थ्य परिक्षण
चितवन, ०८ बैशाख । खैरहनीको कठारमा निशुल्क स्वास्थ्य शिविर भएको छ । खैरहनी नगरपालिका वडा नं. १० को आयोजनामा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरमा २ सय ८० जनाको स्वास्थ्य परिक्षण भएको छ । पुरानो मेडिकल कलेजको प्राविधिक सहयोगमा भएको शिविरको संयोजनकठार स्वास्थ्य चौकीले गरेको थियोे ।
शिविरमा दन्त , हाडजोर्नी तथा नशा रोग , स्त्री तथा प्रसूति, छाला रोग तथा जनरल फिजिसियन सम्बन्धि विशेषज्ञ सेवा प्रदान गरिएको खैरहनी १० का वडा अध्यक्ष चन्द्रविक्रम चौधरीले बताए । स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध हुँदा सर्वसाधारणले सहज रूपमा स्वास्थ्य परामर्श र उपचार पाएका हुन्। शिविरमा निःशुल्क ईसीजी परीक्षण, सुगर जाँच तथा आवश्यक औषधि वितरण गरिएको थियोे ।
उनका अनुसार यस्ता सेवामूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने वडा अध्यक्ष चौधरीले बताए । कार्यक्रमको उद्घाटन खैरहनीका नगरप्रमुख शशी कुमार खनियाले गरेका थिए । कार्यक्रममा वडा सदस्य, टोल विकास संस्थाका प्रतिनिधि तथा छिमेकी वडाका जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका दन्त रोग विशेषज्ञ प्रा.डा. सन्तोष अधिकारीले शिविरबाट रिफर भई अस्पताल पुग्ने बिरामीलाई अस्पतालका सम्पूर्ण सेवामा ४० प्रतिशतसम्म छुट प्रदान गरिने जानकारी दिए। स्थानीय तहको पहलमा आयोजना गरिएको शिविरले ग्रामीण समुदायमा आधारभूत तथा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।


























