प्रधानमन्त्री बालेनलाई संसद्मा उपस्थित गराउन हर्क साम्पाङको माग, बैठक बहिष्कार
चितवन, १३ जेठ । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसद्मा उपस्थित गराई जवाफ दिनुपर्ने माग गरेका छन्।
आज प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ उनले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएका थिए। सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि उनले प्रधानमन्त्रीलाई सदनमा ल्याउन सभामुखले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाए।
उनले भने, “सभामुखज्यूले रुलिङ गरेर पनि प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सक्नुभएको छैन। यदि नियमावलीको नियम १५(२) अनुसार प्रधानमन्त्रीलाई जवाफदेही बनाउन सकिँदैन भने, नियम ३१(१) लागू गरेर मलाई सदनबाट निष्कासन गरियोस्।”
साम्पाङले प्रधानमन्त्रीको जवाफ माग्दै आफूहरू निरन्तर दबाब दिँदै आएको उल्लेख गर्दै बैठक बहिष्कारसमेत गरेका छन्। यस विषयमा हिजो पनि छलफल भएको सभामुख अर्यालले जानकारी दिएका थिए।





















