रास्वपा महाधिवेशन: भोटिङ मेसिनमा उम्मेदवारको विवरण प्रविष्ट गर्नै ६ घण्टा लाग्ने
चितवन, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी प्रथम महाधिवेशनअन्तर्गत मतदान प्रक्रिया थप ढिलो हुने भएको छ। मतदानका लागि प्रयोग हुने भोटिङ मेसिनमा उम्मेदवारहरूको विवरण प्रविष्ट गर्न करिब ६ घण्टा लाग्ने अनुमान गरिएको छ।
भोटिङ मेसिन व्यवस्थापनमा संलग्न एक प्राविधिकका अनुसार उम्मेदवारहरूको अन्तिम विवरण प्रणालीमा प्रविष्ट गर्न समय लाग्ने भएकाले मतदान तत्काल सुरु हुने सम्भावना छैन।
महाधिवेशनमा मतदानका लागि ८० वटा ‘रामलक्ष्मण’ भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ। रास्वपाको ९९ सदस्यीय केन्द्रीय समितिका लागि करिब ४०० जनाले उम्मेदवारी दिएका छन्।
हालसम्म उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छैन। प्रारम्भिक सूची प्रकाशन भएपछि दाबी–विरोधका लागि समय दिइनेछ। त्यसपछि अन्तिम नामावली सार्वजनिक गरी मतदान प्रक्रिया अघि बढाइने निर्वाचन तालिका रहेको छ।






















