डोल्पामा बाढीले बगाउँदा एक महिलाको मृत्यु, ६ जना घाइते
प्रकाशित मिति: आइतबार, आषाढ २१, २०८३ | ११:१५:२५
चितवन, २१ असार । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा शनिबार राति आएको बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निरन्तरको वर्षापछि धुलाखोला र आसपासका खहरेमा आएको हिलोमाटोसहितको बाढी आइतबार बिहान करिब ३ बजे गाउँमा पसेको थियो। बाढीले बगाउँदा स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विक गम्भीर घाइते भएकी थिइन्।
उद्धारपछि उपचारका लागि स्वास्थ्य चौकी लैजाँदै गर्दा आनन्दीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी पदम रावलले जानकारी दिए।
बाढीमा परी घाइते हुनेमा सोही गाउँका चाउरी विक (५०), रेउली विक (४४), विष्णु विक (४८), निरुता विक (१५), सीता विक (१३) र जस विक (६५) रहेका छन्।
प्रहरीका अनुसार घटनास्थलमा उद्धार तथा क्षतिको थप विवरण संकलनको काम जारी रहेको छ।
प्रकाशित मिति : आइतबार, आषाढ २१, २०८३ |
११:१५:२५
133






















