सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच डिजिटल रूपान्तरण र विकास साझेदारीबारे छलफल
चितवन, १७ असार । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटमा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध, विकास साझेदारी, सञ्चार क्षेत्रको सुदृढीकरण, डिजिटल रूपान्तरण र संघीयताको प्रभावकारी कार्यान्वयनलगायत विषयमा छलफल भएको हो।
भेटका क्रममा राजदूत अन्स्र्टले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि विकास साझेदारका रूपमा सहकार्य हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग विस्तार गर्न सकिने क्षेत्रबारे चासो व्यक्त गरे। उनले लोकतन्त्रका आधारभूत मूल्यका रूपमा अभिव्यक्ति र विचार स्वतन्त्रताको संरक्षण आवश्यक रहे पनि पछिल्लो समय गलत सूचना (मिसइन्फर्मेसन) र दुष्प्रचार (डिसइन्फर्मेसन) चुनौतीका रूपमा देखिएकाले त्यसको व्यवस्थापनमा साझा प्रयास आवश्यक रहेको बताए।
मन्त्री तिमिल्सिनाले अष्ट्रेलियाले नेपाललाई उपलब्ध गराउँदै आएको विकास सहयोगप्रति धन्यवाद व्यक्त गर्दै नेपाली विद्यार्थीका लागि छात्रवृत्तिको दायरा विस्तार गर्न आग्रह गरे। साथै, हुलाक सेवाको आधुनिकीकरण, डिजिटल पूर्वाधार विस्तार, डिजिटल पत्रकारिता, तथ्य परीक्षण र सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन अष्ट्रेलियाको अनुभव तथा प्राविधिक सहयोग अपेक्षित रहेको बताए।

























