चितवनमा एसीको ग्यास भर्ने क्रममा सिलिन्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
चितवन, ८ साउन । भरतपुर महानगरपालिका–१६ स्थित गणेश मन्दिर परिसरमा रहेको रोयल फार्मासिटी औषधि फ्याक्ट्रीमा एयर कन्डिसनर (एसी) को ग्यास भर्ने क्रममा सिलिन्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
बिहीबार दिउँसो करिब ३:२० बजेको समयमा फ्याक्ट्रीको दोस्रो तल्लामा राखिएको एसीमा कुलिङ ग्यास भर्ने क्रममा एसिको ग्यास सिलिन्डर अचानक पड्किएको थियो। एसी मर्मत तथा ग्यास भर्नका लागि बाहिरबाट आएका दुई जना प्राविधिकहरू विष्फोटमा परी गम्भीर घाइते भएका थिए। विष्फोटबाट गम्भीर घाइते भएका चितवन भरतपुर महानगरपालिका–१२ बस्ने ३० वर्षीय प्रमोद कोइरालालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। उपचारका क्रममा डाक्टरले उनलाई दिउँसो ४:०५ बजे मृत घोषणा गरेका हुन्। त्यस्तै, विष्फोटमा परी गम्भीर घाइते भएका अर्का प्राविधिक पर्सा जिल्ला पर्टेर्वा गाउँपालिका–५ बस्ने २८ वर्षीय इम्तियाज देवानको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। उनको हाल नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।


















