खैरहनीमा म्याजिकले मोटरसाइकललाई ठक्कर खाँदा दुईजना घाइते , एकको अवस्था गम्भीर
खैरहनी , १ कार्तिक । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका वडा नम्बर ८ स्थित चौबिसकोटीमा म्याजिकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।
राति करिब ७:३० बजेको नारायणघाटबाट लोथरतर्फ जाँदै गरेको ना १ ज ३६४४ नम्बरको म्याजिकले सडक क्रम गरेर पश्चिम उत्तरतर्फ जाँदै गरेको ना १५ प ७३९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियोे । दुर्घटनामा परेर मोटरसाइकल चालक खैरहनी-८ बस्ने ५७ वर्षीय लेख बहादुर पुन गम्भीर घाइते भएका छन् भने मोटरसाइकलको पछाडि सवार गोर्खा घर भई हाल खैरहनी-२ बस्ने २९ वर्षीया शान्ता थापा मगर मध्यम घाइते भएकी छिन । उनीहरू दुवै जनाको टाउकोमा चोट लागेको छ। गम्भीर घाइते पुनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा म्याजिकमा सवार अन्य दुईजना सामान्य घाइते भएका छन् । प्रहरीले म्याजिक चालक र म्याजिकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय भरतपुर पठाएको छ।




















