चितवनमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ, एक लाख ११ हजारभन्दा बढी नगद बरामद
चितवन, १८ कार्तिक । चितवन जिल्लाका छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले दुई फरक स्थानबाट उनीहरूलाई नगद र जुवाताससहित नियन्त्रणमा लिएको हो। मंगलबार दिउसो जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको संयुक्त प्रहरी टोलीले खैरहनी नगरपालिका वडा नं. ८ स्थित पानीटंकी चोक क्षेत्रमा छापा मारेर जुवातास खेलिरहेका ८ जनालाई पक्राउ गरेको छ। प्रहरीले घटनास्थलबाट १० थान तास बुक र नगद ७७ हजार ९ सय ९५ रुपैयाँ बरामद गरेको छ।
त्यस्तै गएराती करिब १ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. १६, नबिन चोकमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई नियन्त्रणमा लिएको छ। उक्त स्थानबाट प्रहरीले २ बुक तास र नगद ३३ हजार ९ सय ९० रुपैयाँ बरामद गरेको छ।
दुवै घटनामा पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम ‘जुवा सम्बन्धी कसुर’ शीर्षकमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीले गैरकानूनी गतिविधि तथा जुवातास नियन्त्रणका लागि जिल्लाभर निगरानी कडा पारिएको बताएको छ।




















