सिन्धुलीका कृषकहरूलाई मौरीपालन सम्बन्धि तालिम चितवनमा सुरु
चितवन , ४ मंसिर । सिन्धुलीका कृषकहरूलाई आधुनिक मौरीपालन व्यवसायमा दक्ष बनाउने उद्देश्यले चितवनको भण्डारास्थित मौरीपालन सम्बन्धि तालिम सुरु भएको छ । कृषि विकास कार्यालय सिन्धुलीको आयोजना तथा मौरीपालन विकास केन्द्र भण्डाराको प्राविधिक सहयोगमा आजबाट मौरीपालन सम्बन्धि अगुवा कृषक तालिम सुरु भएको हो । मौरीपालन विकास केन्द्र भण्डारा संचालित तालिम ४ गतेसम्म हुनेछ । तालिममा सिन्धुलीका १८ जना अगुवा कृषकहरूको सहभागिता रहेको छ । तालिमको उद्घाटन कृषि विकास निर्देशनालय हेटौंडाका महानिर्देशक नारायण कुमार श्रेष्ठले गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं कृषि विकास निर्देशनालय हेटौंडाका महानिर्देशक नारायण कुमार श्रेष्ठले कृषकहरूले महको उत्पादनसँगै यसको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उत्पादित महको बजारीकरणमा जोड दिन आवश्यक रहेको औंल्याउँदै उहाँले अबका दिनमा नतिजामुखी र प्रभावकारी कार्यक्रममा मात्रै केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । साथै, महानिर्देशक श्रेष्ठले स्थानीय तहमा अनुदान प्राप्त गर्नका लागि ‘किसान कार्ड’ अनिवार्य भइसकेको जानकारी गराउँदै सो प्रक्रियामा जोडिन कृषकहरूलाई आग्रह गर्नुभयो ।
कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले सिन्धुलीमा मौरीपालनको राम्रो सम्भावना रहेको, महको मुल्य समेत राम्रो रहेकाले कार्यालयले यस व्यवसायलाई प्राथमिकतामा राखेको बताउनुभयो । कृषकहरूको बढ्दो चाहनालाई मध्यनजर गर्दै प्राविधिक रूपमा सक्षम बनाउन प्रयोगात्मक र स्थलगत सिकाइ सहज होस् भन्ने उद्देश्यले भण्डारामा तालिम आयोजना गरिएको उहाँले स्पष्ट पार्नुभयो । प्रमुख अधिकारीले भन्नुभयो, “यो ३ दिने आधारभूत तालिमले कृषकहरूलाई थप व्यवसायिक बन्न मद्दत गर्ने अपेक्षा गरेका छौं । यदि कृषकहरूलाई एडभान्स तालिमको आवश्यकता परेमा त्यो उपलब्ध गराउन कृषि विकास कार्यालय सिन्धुली पछि हट्ने छैन ।” उहाँले तालिममा सिकेका सीप अन्य कृषकहरूलाई पनि सिकाउन आग्रह गर्दै तालिमको प्रभावकारिता बुझ्न २ महिनापछि स्थलगत अवलोकनसहित मूल्याङ्कन गरिने बताउनुभयो । मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अमगाईले प्राविधिक ज्ञानसहितको मौरीपालनले कृषकको आयआर्जनमा ठूलो टेवा पुग्ने बताउनुभयो । तीन दिनसम्म चल्ने उक्त तालिममा मौरीपालन विकास केन्द्रका प्रमुख सुजन अमगाईसहित प्रशिक्षकहरू कालुराम दहित, राजेश प्रसाद यादव, प्रजु घिमिरे र प्रविणा श्रेष्ठले प्रशिक्षण दिनुहुनेछ ।
तालिममा सहभागी कृषकहरूलाई मौरीपालनको महत्त्व, सम्भावना र चुनौती, आधुनिक घार तथा उपकरणको प्रयोग, मौरीगोला निरीक्षण, लुटलटाई व्यवस्थापन, गृहत्याग र हुल निर्यास नियन्त्रणबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिइएको थियो । यसैगरी, कृत्रिम आहार व्यवस्थापन, परम्परागत घरबाट आधुनिक घारमा गोला सार्ने तरिका, परागसेचन र विषादीको असर, मौरीचरण पात्रो निर्माण, गोला समायोजन तथा विभाजन र मौरीमा लाग्ने रोग तथा किराको पहिचान र व्यवस्थापनका विषयमा समेत स्थलगत प्रशिक्षण दिइनेछ ।



















