चितवनमा प्रहरीकै भरमा लकडाउन ,जनता र व्यवसायीलाई मतलब छैन
बिकास पौडेल
चितवन , ९ जेठ
देशभर कोरोना संक्रमण फैलिरहेको छ । संक्रमितको संख्या दिनानुदिन बढिरेहेको छ । चितवनमा समेत आज दुईजनामा कोरोना संक्रमण देखिएको छ ।
कोरोना संक्रमण बढिरहेको बेला सरकारले लागु गरेको लकडाउन भने फितलो हुदैँ गएको छ । सडक र बजार हेर्दा लकडाउन खुलेको हो कि भन्ने भान हुन्छ । सडकमा सवारीसाधन निर्वाध संचालन भइरहेको छ भने पसलहरु पनि धमाधम खुल्ने क्रममा छन् । बैंक वित्तिय संस्थामा सामाजिक दुरी कायम गरि रोग संक्रमण नसर्ने गरि सुरक्षा सावधानी अपनाउनुपर्ने निर्देशन भएता पनि सामाजिक दुरी भनेको कुन चरीको नाम हो जस्तो दृश्य देखिन्छ । प्रशासनले कडाई नगर्दा लकडाउन फितलो हुदँै गएको छ । लकडाउन फितलो भएसँगै रोगको संक्रमण फैलिने जोखिम उच्च भएको छ ।


यता जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले प्रशासनले अनुगमन गरिरहेको र लकडाउनको पूर्ण कार्यान्वयन गराउन लागिरहेको बताए । निर्देशन विपिरित गरेको भेटे कारबाही गर्ने उनले बताए । शर्माले सबै बिषयमा प्रशासनको मात्रै भर पर्नु भन्दा स्थानिय तह , नागरिक , व्यवसायी र अन्य सम्बन्धि निकाय सबैले आफ्नो जिम्मेवारी र दाहित्व पुरा गरे लकडाउन प्रभावकारी हुने दावी गरे । लकडाउन कार्यान्वयन प्रहरीमा मात्रै भर परेको देखिएको छ । प्रहरीले कडाई गरे लकडाउन प्रभावकारी नगरे फितलो । अन्य सम्बन्धि निकायहरु मौन छन् । उद्योग वाणिज्य संघ , नागरिक समाज , राजनितिक दल र स्वयम् नागरिकहरु समेत उदासिन देखिन्छन् । सरकारले अत्यावश्यक काममा मात्रै बाहिर नस्किनु भनेतापनि साथी भाई भेट्न र बजार डुल्न आउने हुल बाक्लै रहेको छ ।




















