चितवनमा वृद्धाको हत्या गरेको आरोपमा एकजना आफन्त पक्राउ ( भिडियो रिपोर्ट )
चितवन , १९ जेठ
चितवनमा एक वृद्धाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । खैरहनी नगरपालिका वडा नम्बर ३ टुङ्गारा निवासी ७२ बर्षिय बममाया माझीको हत्या गरेको आरोपमा प्रहरीले मृतककै आफन्तलाई पक्राउ गरेको हो ।
बोल्न नसक्ने अविवाहित महिला भाईको घरमा बस्दै आएकी थिइन् । सोहि घरमा बस्ने भाईको ज्वाईले वृद्धाको हत्या गरेको भन्दै उनलाई पक्राउ गरिएको छ । प्रहरीले ४३ बर्षिय आइतराम दराईलाई पक्राउ गरेको हो । शुक्रबार दिउँसो महिलाको हत्या भएको थियो । महिलालाई डोरीले घाटीमा पासो लगाई हत्या गरिएको प्रारम्भीक रुपमा खुलेको छ । प्रहरीसँगको प्रारम्भिक बयानमा उनले हत्या गरेको स्विकार गरेका छन् । दराईलाई पक्राउ गरि आइतबार १० दिनको म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । घरायसी सामान्य मनमुटाव र मदिरा सेवन गरेको कारण घटना भएको प्रहरीको आशंका छ ।


















