कठार स्वास्थ्य चौकीको समस्याप्रति युवाको चासो

कठार स्वास्थ्य चौकीको समस्याप्रति युवाको चासो

कार्तिक २५ गते ।  खैरहनी १० कठार स्थित स्वास्थ्य चौकीको साँघुरो भवनका कारण सेवा प्रवाहमा समस्या देखिएपछि क्लीन कठार नामक अभियानले चासो देखाएको छ । कठार पर्यटन विकास समिति र कठार युथ क्लवले क्लीन कठार अभियान संचालन गरेको छ । सोही अभियान अन्र्तगत सोमवार कठार स्वास्थ्य चौकीको सेवा प्रवाह लगायतका विषयमा यहाँका सरोकारवालाहरुबीच छलफल गरिएको छ । छलफलमा स्वास्थ्य चौकीको सेवा,वितरण हुने औषधी,भवन अभावका कारण झेल्नु परेको समस्या लगायतका विषयमा छलफल भएको कठार पर्यटन विकास समितिका अध्यक्ष लिलाराज गुरुङले जानकारी दिए । कठार उपस्वास्थ्य चौकी रहेको भवनमै स्वास्थ्य चौकी रहेको छ । दैनिक ५० जना भन्दा वढि विरामी सेवा लिन आउने गरेपनि भौतिक संरचना अभावले साँघुरो कोठाबाटै सेवा दिनु पर्ने वाध्यता छ । छलफलमा खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरी,खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरी,११ का वडाध्यक्ष हाकिमसिंह उप्रेती,वडा सदस्यहरु,राजनितिक दलका प्रतिनिधीहरु,कठार युथ क्लवका प्रतिनिधीहरु,पर्यटन विकास समितिका प्रतिनिधीहरु लगायतको उपस्थिती रहेको थियो । भौतिक संरचना अभावकाबीच प्रभावकारी रुपमा सेवा प्रवाह भईरहेको स्वास्थ्य चौकीले जनाएको छ । छलफलमा जनप्रतिनिधीहरुले स्वास्थ्य चौकीको भवन निर्माणमा जिम्मेवार रहेको वताए । सोही अवसरमा स्वास्थ्य चौकीमा नियुक्त भएका इन्चार्जसहितका कर्मचारीहरुलाई स्वागत समेत गरिएको थियो ।