सिमसार दिवसमा बुढीराप्ती नदि सरसफाई

सिमसार दिवसमा बुढीराप्ती नदि सरसफाई

माघ १९ गते । विश्व सिमसार दिवसको अवसरमा आईतवार सौराहामा विविध कार्यक्रम गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन र चित्रसेन मध्यवर्ती सामुदायिक वनको आयोजना तथा रेवान सौराहा,दिगो फोहोर व्यवस्थापन सहकारी संस्था,राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतको सहयोगमा बुढीराप्ती नदि सरसफाई गरिनुका साथै सडक नाटक देखाएर सिमसार दिवस मनाईएको हो । बाघमारा र चित्रसेन वनको महत्वपूर्ण नदि बुढीराप्ती नदि हो । पछिल्लो समय गोहीले सो नदिलाई वासस्थान वनाउन थालेपछि संरक्षणका लागि सरसफाई गरिएको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीत वहादुर तामाङले वताए । बाघमारा वनले पञ्चवर्षिय कार्ययोजनामा समेत सो नदि संरक्षणलाई समेटेको उनले वताए । बुढीराप्ती नदिमा फोहोर हुने स्थानको सर्वे गरिसकेको भन्दै अध्यक्ष तामाङले त्यस्ता स्थानका स्थानीयलाई लक्षित गर्दै सचेतना मुलक कार्यक्रम गर्न लागेको जानकारी दिए । उनका अनुसार बुढीराप्ती नदिमा हाल ३५ वटा गोही रहेको अनुमान छ ।

बुढीराप्ती नदि गाडी धुने,मानिस नुहाउने,लुगा धुने थलोको रुपमा विकास भएको भन्दै कार्यक्रममा उपस्थितहरुले चिन्ता जनाए । सरसफाई उद्घाटनका अवसरमा चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख सहायक संरक्षण अधिकृत गोपाल वहादुर घिमिरे,राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल,रत्ननगर ७ का वडाध्यक्ष लालवहादुर भट्ट, राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत डाक्टर बाबुराम लामिछाने ,चित्रसेन वनका अध्यक्ष पुष्पराज श्रेष्ठले फोहोर व्यवस्थापनका लागि निरन्तर कार्यक्रम संचालन गर्नु पर्ने वताए । चित्रसारी पुलदेखी सुरु भएको सरसफाईमा रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडा,दिगो फोहोर व्यवस्थापन सहकारी संस्थाका अध्यक्ष धु्रव गिरी,नेपाली सेनाका प्रतिनिधीहरु,वर्ड एजुकेसन,नेचरगाईड,सौराहा जेसिज,सौराहा लेडी जेसिजका प्रतिनिधीहरु,चित्रसारी माविका विद्यार्थीहरु सहभागी थिए । दिवसकै अवसरमा चित्रसारी माविमा फोहोर न्युनिकरण सम्वन्धी सडक नाटक समेत प्रस्तुत गरिएको थियो ।