कृष्ण मन्दिरद्धारा कोरोना राहत कोषलाई सहयोग

कृष्ण मन्दिरद्धारा कोरोना राहत कोषलाई सहयोग

चैत २२ गते । खैरहनी नगरपालिकामा स्थापित कोरोना नियन्त्रण तथा राहत कोषका लागि श्रीकृष्ण प्रणामी मन्दिर वुढौलीले आर्थिक सहयोग गरेको छ । खैरहनी नगरपालिकाले एकद्धार प्रणाली अवलम्वन गर्दै कोरोना भाईरस नियन्त्रण तथा राहत कोष स्थापना गरेको थियो । एकद्धार प्रणालीबाट वितरण गरिएको राहत प्रभावकारी हुने भन्दै कृष्ण मन्दिरको तर्फबाट २५ हजार बरावरको चेक नगरपालिकालाई वुझाएको हो । मन्दिरका अध्यक्ष भरतराज सुवेदीसहितको टोलीले खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीलाई सो चेक हस्तान्तरण गरेका थिए । विपतको वेला थोरै भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको मन्दिरका अध्यक्ष सुवेदीले वताए । चेक ग्रहण गर्दै नगर प्रमुख चौधरीले मन्दिरले गरेको आर्थिक सहयोगको सही सदुपयोग हुने विश्वास दिलाए । चेक हस्तान्तरणका लागि मन्दिरका अध्यक्ष सुवेदीको नेतृत्वमा उपाध्यक्ष गणेश गजुरेल,सचिव धु्रव अर्याल,समाजसेवी मुरली प्रसाद गजुरेल नगरपालिका पुगेका थिए ।
यसैबीच समाजसेवीहरुले संकलन गरेको राहत शनिवार नगरपालिकाको रोहवरमा विपन्न परिवारलाई वितरण गरिएको छ । समाजसेवी मुरली प्रसाद गजुरेल,लेखवहादुर पुन,प्रेम रिमाल,कमल पाठक,अशोक न्यौपाने लगायतको टिमले राहत संकलन गरेको थियो । सो राहत नगरपालिकाको विपद व्यवस्थापन समिति संयोजक एवंम् राहत व्यवस्थापन तथा वितरण समिति संयोजक भुमी प्रसाद कडेंलको उपस्थितीमा २३ घरपरिवारलाई वितरण गरिएको हो । नगरपालिकाले एकद्धार प्रणाली अवलम्वन गरेपछि समाजसेवीहरुले नगरपालिकाको प्रतिनिधीको रोहवरमा राहत वितरण गरेका हुन् ।