कोरोना कहर – रक्तदान कार्यक्रम शुन्य,रगत अभाव सुरु

कोरोना कहर – रक्तदान कार्यक्रम शुन्य,रगत अभाव सुरु

चैत २२ गते । कोरोना भाईरस सक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको असर प्रत्यक्ष रुपमा रगत संकलनमा परेको छ । जसका कारण चितवनमा रगतको अभाव सुरु भएको छ । लकडाउनका कारण रक्तदान कार्यक्रमनै गर्न नपाएपछि रगत संकलन हुन नसकेको नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त संचार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले वताए । चितवनमा हरेक दिन जसो रक्तदानका कार्यक्रम हुन्थे । वाहिर जिल्लामा गएर पनि रगत संकलन गरि ल्याईने गरिन्थ्यो । तर अहिले त्यस्तो अवस्था शुन्य छ । लकडाउनले गर्दा रगत संकलनका लागि गरिने कार्यक्रम पूर्ण रुपमा रोकिएपछि अहिले रक्त संचार केन्द्रले रक्तदातालाई घरमै लिन जाने गरेको केन्द्रका प्रमुख पौडेलले वताए । रक्तदातालाई घरबाट ल्याउने र घरै पुर्याउन नेपाल रेडक्रस सोसाईटीको एम्वुलेन्स व्यवस्था गरिएको छ ।
जिल्लाका सामाजिक अगुवाहरु तथा रेडक्रस सोसाईटीका उपशाखाहरु मार्फत रक्तदाता खोजी गरेपछि घरबाटै ल्याउने,पुर्याउने व्यवस्था मिलाईएको क्षेत्रीय रक्त संचार केन्द्र भरतपुरका प्रमुख पौडेलले वताए । अहिले दैनिक १० जना सम्म रक्तदाताहरुले रगत दान गरिरहेका छन् । यहाँ भरतपुर अस्पताल,दुई मेडिकल कलेज,क्यान्सर अस्पताल लगायत अन्य धेरै अस्पतालहरु भएकाले रगत माग अत्याधिक हुने गरेको छ । लडेर घाईते भएका,मेजर अप्रेशन गर्नेहरु अहिले पनि नियमित रहेकाले त्यस्ता विरामीका लागि रगत खपत भईरहेको पौडेलले वताए । लकडाउन अघि दैनिक १५० युनिट रगत खपत हुने गरेता पनि अहिले सरदर ३५ युनिट रगत खपत भईरहेको पौडेलले जानकारी दिए । लकडाउनको चैत १९ गते सम्मको अवधिमा १ सय २९ युनिट रगत संकलन भएकोमा ३ सय ५२ युनिट वितरण भएको छ । स्टक रगत भएकाले वितरण संख्या धेरै देखिएको उनले वताए ।