रत्ननगरमा बैकल्पिक शिक्षाको रुपमा रेडियो कक्षा सुरु
चितवन , ०१ असार ।
पूर्वी चितवनको रत्ननगर नगरपालिकाले चितवनमै पहिलो पटक रेडियो कक्षा सुरु गरेको छ । डकडाउनका कारण विद्यालयमा पठनपाठन गराउन सक्ने अबस्था नरहेपछि बैकल्पिक शिक्षाको रुपमा नगरपालिकाले रेडियो मार्फत विद्यार्थीहरुलाई पढाउनु सुरु गरेको हो ।
रत्ननगरका मेयर नारायण वनले रेडियो अर्पणको स्टुडियोमा रेडियो कक्षाको सुभारम्भ गरेका छन् । सो अबसरमा उनले नगरको शैक्षिक स्तर खस्किन नदिन रेडियो कक्षा सुरु गरिएको बताए । मुलुकमा लकडाउन सुरु भएपछि अनलाइन कक्षा सञ्चालनको होडबाजी चलेको थियो । आर्थिक अबस्था कमजोर भएका विद्यार्थीहरुको पहुँच इन्टरनेट र सुविधायुक्त मोवाइलमा नहुने भएकाले रेडियो कक्षा सुरु गरिएको उनले बताए । पहिलो चरणमा सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीहरुका लागि रेडियो कक्षा सुरु गरिएको हो ।
पहिलो चरणमा कक्षा ८ को नेपाली ,अंग्रेजी र सामाजिक विषयको कक्षा सुरु भएको छ । पहिलो चरणको रेडियो कक्षाको प्रभावकारिता मुल्याङकन गरी अन्य कक्षाको कार्यक्रम सञ्चालन गर्ने योजना रहेको मेयर वनले बताए । जिल्लामै रेडियो कक्षा सञ्चालन गर्ने गरी अन्य पालिकाहरुसंग पनि सहकार्य गर्ने प्रयास भइरहेको मेयर वनले बताए । रत्ननगरमा २९ सामुदायिक,२४ संस्थागत विद्यालय रहेका छन । नेपाल सरकारले जारी गरेको बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिक बैकल्पिक शिक्षाको रुपमा रेडियो कलास सुरु गरिएको नगर शिक्षा अधिकारी बद्रिनारायण शर्माले जानकारी दिए ।

























