पशुपालनमा आकर्षण वढाउन दुहुनो गाईमा अनुदान
असार २७ गते । चितवन रत्ननगर नगरपालिका ३ का किसानलाई दुहुनो गाई वितरण गरिएको छ । पशुपालन तर्फ आकर्षण वढाउन वडा नम्वर ३ को वडा कार्यालयले अनुदानमा गाई वितरण गरेको हो । वडा भित्रका ११ जना किसानलाई गाई वितरण गरिएको वडाध्यक्ष गुप्तनाथ भट्टराईले जानकारी दिए । गाई खरिदका लागि वडा कार्यालयले प्रति किसान ४० हजार रुपैया अनुदान दिएको थियो । वाँकी रकम भने किसान आफैले व्यहोरेका हुन् । स्थानीय देवकी अधिकारी,रमेश पुडासैनी,बीरवहादुर भुजेल,चित्रसेन अधिकारी,अस्मिता सिंह ठकुरी,चिरञ्जिवी भट्टराई,रामप्रसाद तिमल्सीना,सुनमाया लामा,प्रेम गिरी,गोमा न्यौपाने र रमाकान्त भुवाजीलाई शनिवार एक कार्यक्रमका बीच गाई हस्तान्तरण गरिएको हो । किसानले ८० हजार सम्म हालेर गाई खरिद गरेका थिए । गाई खरिद गरेपछि मात्र वडा कार्यालयले रकम भुक्तानी गरेको हो । दुहुनो गाई वितरणका लागि वडा कार्यालयले चालु आर्थिक वर्षमा ४ लाख ४० हजार रुपैया विनियोजन गरेको थियो । रत्ननगर नगरपालिका मेयर नारायण वन,उपमेयर विमला दुवाडी,वडाध्यक्ष गुप्तनाथ भट्टराईले किसानलाई गाई हस्तान्तरण गरेका थिए । सो अवसरमा मेयर वनले कृषि र पशुपालनमा नगरलाई अव्वल वनाउने निति लिईएको भन्दै वाँझो जमिन प्रयोगमा ल्याई खेती समेत सुरु गरिएको वताए । यहाँकै युवाहरु र विदेशबाट फर्किएकाहरुलाई स्वरोजगार वनाउन नगरपालिकाले सहयोग गर्ने समेत मेयर वनले वताए । गाई प्राप्त गरेका स्थानीय चित्रसेन चौधरीले वडाले अनुदानमा दुहुनो गाईनै दिएकोमा खुसी व्यक्त गर्दै गाईको संख्या वृद्धी गर्दै लैजाने वताए ।



















