पूर्वी चितवनका वाढी प्रभावित क्षेत्रको प्रचण्डद्धारा निरीक्षण
असार २८ गते । पूर्व प्रधानमन्त्री एवंम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृह जिल्ला चितवनको लोथरदेखी सौराहा सम्मको राप्ती ड्याक निरीक्षण गरेका छन् । शनिवार आफ्नो निर्वाचन क्षेत्रमा वाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका प्रचण्डले आईतवार चितवन क्षेत्र नम्वर १ र २ मा विकास निर्माणसंगै बाढी कटान तथा डुवान क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् । प्रचण्ड गृहजिल्ला आउँदा पूर्वी चितवन भने विरलै आउने गरेका छन् । प्रचण्डले राप्ती नगरपालिकाको लोथरदेखी सौराहा सम्म निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा खैरहनी स्थित जिन्दगानीघाटमा खैरहनीका मेयर लालमणि चौधरीले राप्ती ड्याक निर्माण पश्चात यस क्षेत्र सुरक्षित रहेको भन्दै सौराहा सम्म पूर्ण हुन बाँकी ड्याक निर्माणमा पहल गरिदिन आग्रह गरे । तत्कालिन जिल्ला विकास समितिका कारण वातावरण प्रभाव मुल्यांकन (आईईई ) मा समस्या हुँदा ड्याक निर्माण कार्य अघि वढ्न नसकेको मेयर चौधरीले वताए । चालु आर्थिक वर्षदेखी नेपाल सरकार,स्थानीय तह र स्वीस सरकार मिलेर ड्याक निर्माण गरेको मेयर चौधरीले प्रचण्डलाई जानकारी गराए ।

स्वीस सरकारको सहयोगका कारण ड्याक निर्माणपछि वस्ती सुरक्षित रहेको र जिविकोपार्जनमा टेवा मिलेको मेयर चौधरीले वताए । लोथरमा राप्तीकी मेयर प्रभा बरालले राप्ती ड्याकमा निर्माण सुरु भएको आरसिसि ड्याक निर्माणका बारे जानकारी गराईन् । वर्षेनी डुवानमा पर्दै आएको पर्यटकीय क्षेत्र सौराहालाई सुरक्षित राख्नका लागि ड्याक निर्माणमा सहयोग गरिदिन मेयर नारायण वनले पूर्व प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे । साथै वर्तमान विषम परिस्थितीमा यहाँका हात्तीहरु भोकै रहनु पर्ने वाध्यता रहेको भन्दै निकुञ्ज क्षेत्र भित्र पर्ने निजी जग्गामा हात्ती चरणको व्यवस्थामा सहजीकरण गर्न समेत मेयर वनले आग्रह गरे । सौराहापछि वद्रेनी,खोरसोर सम्म पुगी प्रचण्डले जंगली जनावरबाट हुने क्षती र बाढीबाट हुने क्षतीका बारे जानकारी लिएका थिए । यसअघि आईतवारनै प्रचण्डले कालिका नगरपालिकाको बाढी डुवान क्षेत्रको समेत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा प्रदेश साँसदहरु कृष्ण प्रसाद खनाल,घनश्याम दाहाल,भरतपुर महानगरपालिका मेयर रेनु दहाल,खैरहनी मेयर लालमणि चौधरी, कालिका नगरपालिका मेयर खुमनारायण श्रेष्ठ,रत्ननगर मेयर नारायण वन,राप्ती नगरपालिका मेयर प्रभा वराल,उपमेयरहरु इमानसिंह लामा,विमलादेवी दुवाडी,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई,जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ लगायतको उपस्थिती रहेको थियो ।




















