जन्मदिनमा मन्त्री लामाद्धारा वृक्षारोपण,उत्पादनमुखी वन्न जोड
साउन ९ गते । बागमती प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले वृक्षारोपण गरेर आफ्नो जन्मदिन मनाएका छन् । राप्ती नगरपालिका ४ स्थित शिखर हरियाली सामुदायिक वनमा उत्पादनमुखी फलफुलका विरुवा रोपेर मन्त्री लामाले शुक्रवार परेको ६१ औं जन्मोत्सव मनाएका हुन् । उनले नयाँ प्रजातिको एकेडेमिक नट नामक विरुवा रोपेका थिए । वृक्षारोपण पछि कृषि मन्त्री लामाले सामुदायिक वनमा उत्पादनमुखी विरुवा रोपेर आम्दानीको श्रोत वनाउनु पर्नेमा जोड दिए । कतिपय वन खेर गईरहेका छन् मन्त्री लामाले भने – त्यस्ता क्षेत्रमा फलफुलका विरुवा लगाउन सके आम्दानीको श्रोत वनाउँदै वन संरक्षण समेत हुन्छ ।

कृषि मन्त्री लामाले वन क्षेत्रमा निर्माण भईरहेको इको टुरिजम पार्क र यस आसपासमा नयाँ फलफुलका विरुवा लगाएर यहाँ आउने आगुन्तकलाई फलफुलबाट स्वागत गर्न सके अन्यत्र सन्देश राम्रो जाने औल्याए । वाहिरबाट अर्वौको फलफुल नेपाल भित्रने गरेको भन्दै मन्त्री लामाले आफ्नै ठाउँमा फलफुलका विरुवा लगाउनु पर्नेमा जोड दिए । वृक्षारोपणका लागि मन्त्री आफैले फलफुलका विरुवा ल्याएका थिए । जन्मदिनको शुभकामना व्यक्त गर्दै राप्ती नगरपालिका उपमेयर इमानसिंह लामाले समृद्ध नगर,समृद्ध मुलुक निर्माणा उत्पादनमुखी कृषि क्षेत्रमा लाग्नु पर्ने वताए ।

कृषि क्षेत्रको विकासमा मन्त्री लामाले किसानमैत्री कार्यक्रम र वजेट विनियोजन गरेकोमा उपमेयर लामाले धन्यवाद पनि दिए । वृक्षारोपण गरिएको क्षेत्रमा बागमती प्रदेश सरकारको झण्डै साँढे ५ करोडको लगानीमा इको टुरिजम पार्क निर्माणको काम भईरहेको शिखर हरियाली सामुादायिक वनका अध्यक्ष केदार आचार्यले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रममा कृषि ज्ञान केन्द्र चितवन,मकवानपुरका प्रमुख राजन ढकाल, राप्ती २ का वडाध्यक्ष श्यामसुन्दर उप्रेती,राप्ती नगरपालिका कार्यपालिका सदस्य श्यामलाल विक,उद्योग बाणिज्य संघ राप्तीका अध्यक्ष राजकुमार कडेंल, राप्ती नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समितिका अध्यक्ष डिल्ली प्रसाद थपलिया,नेकपाका नेता गोविन्द कडेंल,युवा नेता स्वरुप सुयाँल लगायतको उपस्थिती रहेको थियो ।



















