खैरहनीमा वहुउदेश्यीय शीत भण्डार निर्माण तीव्र
साउन २८ गते । चितवनको खैरहनीमा बहुउद्देश्यीय शीतभण्डार निर्माणको काम तीव्र रुपमा भइरहेको छ । प्रदेश सरकार,खैरहनी नगरपालिका र नगर भित्रका सहकारी संस्थाहरुको साझेदार लगानीमा खैरहनी ८ सुर्तनीमा शीत भण्डार निर्माण भईरहेको हो । बागमती प्रदेश भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयबाट ७० प्रतिशत र खैरहनी नगरपालिका तथा यहाँका सहकारी संस्थाहरुको ३० प्रतिशत लगानी शीत भण्डारमा रहनेछ । एक वर्ष अघि निर्माण सुरु गरिएको यस शीत भण्डारको हाल सम्म ५० प्रतिशत काम सकिएको खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले जानकारी दिए । १२ करोड ९४ लाखको लगानीमा तयार हुने सो शीतभण्डारमा एक हजार ५०० मेट्रिक टन कृषि उत्पादन अट्ने क्षमता रहेको मेयर चौधरीले बताए । वहुउदेश्यीय परियोजनका लागि निर्माण हुने यो शीत भण्डार जिल्लाकै पहिलो हो । यसै आर्थिक वर्ष भित्र शीत भण्डार निर्माण सम्पन्न हुने मेयर चौधरीको भनाई छ । यहाँ किसानले उत्पादन गरेको तरकारी, फलफूल, दूध, माछा र मासु भण्डारण गर्न पाउनेछन् । किसानले उत्पादन गरेको दूध,तरकारीले बजारभाउ नपाएर फाल्नुपर्ने अवस्था छ मेयर चौधरीले भने – मुल्य नपाउँदा शीत भण्डारमा राख्न सकिन्छ,मुल्य आएपछि किसानले आफ्नो उत्पादनको उचित मुल्य पाउने छन् । कतिपय किसानहरुले तरकारी बिक्री नभएर खेतमै जोत्ने गरेका छन् ।

गोबर सोरेर दुहेको दूध सडकमा फाल्नुपर्ने अवस्था आउने गरेको छ, मेयर चौधरीले थपे , – किसानले उत्पादन गरेको तरकारी खेतमै जोतिएको छ, अब यो अवस्थाको अन्त्य हुन्छ । शीतभण्डारमा किसानले उत्पादन गरेको कृषि उपज सामग्री एक महिनासम्म भण्डारण गर्न मिल्ने गरी भवन निर्माण गरिएको छ । फलाम र स्टील प्रविधिबाट निर्माण भइरहेको सो शीतभण्डारको भवनमा छानो र प्लेट हाल्ने काम बाँकी रहेको छ । नगरपालिका र नगरभित्रका सहकारीहरुको सहकार्यमा शीतभण्डार सञ्चालन हुने मेयर चौधरीले बताए । प्रदेश सरकारको एक जिल्लामा एउटा शीतभण्डार निर्माण गर्ने योजनाअनुरुप चितवनको खैरहनीमा सो शीतभण्डार निर्माण सुरू भएको हो । सो शीतभण्डारको २०७६ साल साउन महिनामा बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले शिलान्यास गरेका थिए ।



















