निषेधाज्ञाको बेला प्रहरी बिटको नजिकैबाट दिनदहाडै मोटरसाइकल चोरी
चितवन , ६ भदौं।
चितवन जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि प्रशासनले जिल्लाभर निषेधाज्ञा लागु गरेको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकको सवारीसाधन संचालन तथा मानिसहरुलाई घरबाहिर निस्कन रोक लगाइएको छ । खाद्यान्न लगायतको सामाग्री खरिद गर्न समेत बिहान र बेलुका ५ देखी ८ को समय दिइएको छ । त्यसबाहेकको समयमा घरबाहिर ननिस्कन र अनावश्यक रुपमा निस्कए कारबाही गर्ने प्रशासनले चेतावनी दिदै आएको छ । तर चितवनको खैरहनीमा निषेधाज्ञाको समयमा मोटरसाइकल नै चोरी भएको छ ।
खैरहनी ८ पर्सा बजारमा रहेको डल्लाकोटी फ्रेस हाउसको संचालक विशाल डल्लाकोटीको पल्सर मोटरसाइकल दिनदहाडै चोरी भएको हो । दिउँसो करिब १ बजेको समयमा पसल अगाडीबाटै बागमती प्रदेश २ प २९५३ नम्बरको मोटरसाइकल चोरी भएको मोटरसाइकल धनी डल्लाकोटीले बताए । उनको पसल र पर्साको प्रहरी बिट करिब दुई सय मिटरको दुरीमा रहेको छ । उनी सोही पसलको माथिल्लो तलामा बस्ने गरेको र मोटरसाइकल चोरी गरेर लैजादै गर्दा देखेर लखेटेको तर आफूले भेट्न नसकेको डल्लाकोटीले बताए ।
एउटा मोटरसाइकलमा आएका दुईजनामध्य एकजना झरेर मोटरसाइकल चोरेर हेलमेट समेत नलगाई गएको सिसि क्यामेराको फुटेजमा देखिएको छ । निषेधाज्ञाको समयमा प्रहरी बिटको नजिकबाटै दिनदहाडै मोटरसाइकल चोरी हुनुले चितवनको शान्ति सुरक्षालाई चुनौती दिएको छ । मोटरसाइकल चोरी भएको सूचना पाउनसाथ मोटरसाइकल तथा चोरको खोजीकार्य तिब्र पारिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।



















