विदेशी शक्तिको आडमा अघि बढ्ने प्रवृत्ति पुनरावृत्ति भइरहेको छ : नारायणकाजी
काठमाडौं,५ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले सत्तास्वार्थका कारण विदेशी शक्तिलाई निम्तो दिइरहेको आरोप लगाएका छन् ।
बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले विदेशी शक्तिको आडमा सरकार अघि बढ्न खोजेको बताएका हुन् । ‘‘देश गम्भीर संकटबाट गुज्रँदै छ । संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भइरहेको छैन, पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ । सत्तास्वार्थले अन्धा भएका निरंकुश तत्वहरूबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भइरहेको छ,” उनले भनेका छन्, “विदेशी शक्तिहरू कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भनेर सूक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेका छन् । सम्पूर्ण देशभक्त शक्तिहरू एक होऔँ । प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौँ । राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गरौँ ।”
श्रेष्ठ प्रचण्ड–नेपाल समूहले बनाएको प्रतिगनविरोधी संघर्ष समितिका संयोजक पनि हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमविरुद्ध प्रचण्ड–नेपाल समूह चरणबद्ध आन्दोलनमा पनि छ । आजैबाट अर्को चरणको आन्दोलन पनि सुरु भएको छ ।