मगर संस्कृतिमा आधारित मिह्रीको च्यारिटी शो
चितवन, १८ फागुन ।
चितवनमा नै पहिलो पटक यहीँका युवाहरुले मगर संस्कृतिलाई आधारा बनाएर निर्माण गरेको भगर संस्कृतिको चलचित्र मिह्री (भाग्य)को च्यारिटी शो गरिएको छ ।
मगर समुदायको पहिचान झल्काउन नेपाली भाषामा निर्माण गरिएको ‘मिह्री’ चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्कमा रहेको सिनेप्लेक्समा सोमबार प्रदर्शन गरएको हो । तनहुँको आँबुखैरेनीको सत्रसयमा अवस्थित रानागाउँ पवित्र धार्मिक स्थल देवघाटधाम तथा पोखरा र चितनवनको रमणीय दृश्य र भौगोलिक/सामाजिक पृष्ठभूमिमा चलचित्र निर्माण गरिएको छ । चितवनबाटै कलाकार उत्पादन गर्ने लक्ष्यसहित चलचित्र निर्माण गरिएको यस चलचित्रमा अधिकांश कलाकार चितवनकै छन् ।
चलचित्रका निर्माता/निर्देशक रमेश रानामगर मुख्य भूमिका रहेको यस चलचित्रमा उनले अधिकांश नयाँ कलाकारलाई समेटेका छन् । यसअघि दुई वटा मगर चलचित्रमा अभिनय गरेकी मुख्य नायिका सनम आलेमगर, प्रेमकुमारी आलेमगर र बलबिक्रम थापामगरबाहेक अरू सबै नयाँ कलाकार हुन् । तर, चलचित्रमा डेब्यू गरेका नवकलाकारको प्रस्तुत पनि प्रशंसनीय छ ।
ईश्वर रानामगर, प्रीज्मा आलेमगर, आशिक रानामगर, मिलन थापामगर, सृष्टी थापामगर, देवी थापामगर, भीमबहादुर थापामगर नव कलाकारहरु हुन् । उनीहरुको अभिनयले मगर चलचत्रिलाई अघि बढाउन थप मद्धत मिल्ने देखिन्छ । चलचित्रमा अमृता थापा रानामगर, प्रेमकुमारी आलेमगर, तुलमान गुरुङ र देवेन्द्र रानामगरको संयुक्त लगानी रहेको छ ।
दुई दशकदेखि नै चितवनको सञ्चार क्षेत्रमा कार्यरत घना गुरूङले चलचित्रलाई छायाँकन तथा सम्पादन गरेका हुन् । करिब दुई दशकदेखि सञ्चारकर्ममा सक्रिय रमेश रानामगरको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिह्री’को अर्थ नेपालीमा भाग्य हो । मगर संस्कृतिमा आधारित चलचित्र चितवनबाट निर्माण भएको यो पहिलो हो ।
रफ्तार मिडिया प्रा.लि.को व्यानरमा निर्माण भएको यस चलचित्रमा ‘के मेरो माया लाग्छ र’ र ‘भमरा डुल्यो’ सालैजो गीत समावेश छ । चलचित्रको च्यारिटी शो गरिनु अघि चलचित्रका कलाकार तथा सम्बन्धित व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।


















