गौतम पक्षको एकता अभियानमा गैँडाकोटमा कमिटी गठन

नवलपुर, १९ फागुन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएपछि अर्को एक समूहले मध्यमार्गी बाटो अपनाउँदै राष्ट्रिय एकतामा जोड दिएको छ । मङ्गलबार गैँडाकोटमा भेला भएका नेकपाका नेताहरुले कम्युनिस्ट पार्टी एक हुनुपर्ने बताएका हुन् । नेकपामा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली समूह र प्रचण्ड–नेपाल समूहगरी दुई समूह देखिएपछि मध्यमार्गी बाटो अपानाउन गैँडाकोटमा १७ सदस्यीय नगर स्तरीय कमिटी गठन गरिएको छ ।
पार्टीका उपाध्यक्ष वामदेव गौतमले दुई समूहलाई एक बनाउन भन्दै राष्ट्रिय अभियान नै सञ्चालन गर्नुभएअनुसार सोही अनुसार गैँडाकोट नगरपालिकामा कमिटी गठन गरिएको बताइएको छ । गैँडाकोटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियानको संयोजकमा बाबुराम खनाल र सचिवमा नेत्रप्रसाद अधिकारीलाई चयन गरिएको हो । कमिटी गठन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियानका केन्द्रीय कार्य सम्पादन कमिटी सदस्य एवं नवलपुर जिल्ला ईन्चार्ज दुर्गा भण्डारीले पार्टी एकतामा जोड दिनुभयो ।
पार्टीको विखण्डन आफूहरुलाई स्वीकार्य नहुने भन्दै भण्डारीले सबै कम्युनिष्टबीच एकता हुनुपर्ने बताउनुभयो । साथै बिहिबार जिल्ला कमिटी गठन गरिने समेत उहाँले बताउनुभयो । झलककाजी पौडेलको अध्यक्षतामा भएको कार्यक्रम अभियानका केन्द्रीय सदस्य यदु सिग्देलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
यसअघि जिल्लाको कावासोती नगरपालिका र मध्यविन्दु नगरपालिकामा समेत वामदेव नेतृत्वको एकता अभियानको कमिटी गठन भइसकेको छ ।