नेपाल डायरिजले ग्ल्यम अप नेपाल (फेसन एक्स्पो) गर्दै
चितवन, २० फागुन ।
आगामी चैतको २७ र २८ मा चितवनको भरतपुरमा ग्ल्यम अप नेपाल (फेसन एक्स्पो) हुने भएको छ । इभेन्ट म्यानेजमेन्ट कम्पनीको रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आएको नेपाल डायरिजको आयोजनामा फेसन एक्स्पो हुन लागेको हो ।
फेसन एक्स्पोबारे आज बिहान पत्रकारहरुसँग छलफल गर्दै आयोजक नेपाल डायरिजले दुई दिने कार्यक्रममा छ हजार बढीले अवलोकन गर्ने जनाएको छ । नेपाल डायरिजका निर्देशक विनेश थापाकाअनुसार फेसन डिजाइनर र मेकअप आर्टिस्ट (सौन्दर्यकर्मी)हरुलाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको हो । दुई दिनको कार्यक्रममा २०० बढी फेसन डिजाइनर तथा ८०० बढी सौन्दर्यकर्मीहरुलाई प्रशिक्षण समेत दिइने थापाले बताउनुभयो ।
एक्स्पोमा फेसन डिजाइनर सम्बन्धि (बुटिक, पार्लर, ट्याटुसहितका) ३० वटा स्टल रहने भन्दै थापाले सौन्दर्यकर्मीहरुलाई लक्षित गरेर कार्यक्रम राखिएको बताउनुभयो । पेज थ्री ग्ल्यामरको भाग भएको भन्दै यो काठमाडौँ बाहिरको ठूलो फेसन एक्स्पो भएको थापाको भनाइ छ । कार्यक्रममा नेपाल डायरिजका सञ्चार संयोजक अनिल घिमिरेकाअनुसार दुई दिने कार्यक्रममा १०० बढी फेसन डिजाइनरहरुले निर्माण गरेका डिजाइन प्रदर्शन गरिनेछ ।
मौलिक संस्कृति झल्किने भेषभूषा समेत प्रदर्शन हुने भन्दै घिमिरेले फेसन शो मा ६५ भन्दा बढी मोडलहरुको सहभागिता हुने बताउनुभयो । फेसन डिजाइन सम्बन्धि दुई वटा कक्षा सञ्चालन गरिने भन्दै घिमिरेले ६ जना सेलिब्रेटी कार्यक्रममा सहभागी हुने जानकारी दिनुभयो । दिउँसो वर्कशप हुने भन्दै उहाँले साँझमा फेशन शो गरिने बताउनुभयो ।
२७ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको फेसन एक्स्पोमा ६ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्मका स्टल, वर्क शपमा सहभागी हुनका लागि दुईदेखि तीन हजार रुपैयाँ शुल्क लाग्ने क्रियटिभ डाइरेक्टर मनिष तामाङले बताउनुभयो ।


















