ह्वील चियरबाटै ३३ देश घुमेका कार्की
ध्रुवराज खनाल
चितवन, १८ चैत ।
सवारीसाधन दुर्घटनाबाट दुवै खुट्टा गुमाएका ओखलढुङ्गा मलुङ गाउँपालिका–५ प्राप्चाका तेजबहादुर कार्कीले ह्वील चियरको सहायतामा नेपालका विभिन्न जिल्लाको यात्रामा निस्किएका छन् ।
नेपालको तीन वटा जिल्ला पुग्न बाँकी रहेको उल्लेख गर्दै कार्कीले हालसम्म विश्वका ३३ वटा देशहरुमा पुगिसकेका जानकारी दिए । कार्कीले चलाएको बस विसं २०५७ सालमा धादिङको जोगिमाराबाट त्रिशूलीमा खस्दा घाईते भएका उनले आफ्ना दुई वटै खुट्टा गुमाउन पुगे । विसं २०६० सालसम्म उनको उपचार गर्न समय लाग्यो ।
उपचार पश्चात उनको साहारा ह्वील चियर बन्न पुग्यो । यो अवस्थामा कुनै जागिर पाउने अवस्था नरहेपछि कार्की ह्वील चियर मार्फत विश्व शान्ति यात्रामा निस्कने निचोडमा पुगे । विसं २०६१ जेठ ४ गते छिमेकी देश भारतबाटै उनले यात्रा शुरु गरे ।
हालसम्म कार्कीले विश्वका ३३ वटा देशको यात्रा गरिसकेका छन् । भारत, चीन, भुटान, मालदिभ्स, कम्बोडिया, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, म्यानमार, भियतनाम, जोर्डन, इन्डोनेसिया, कतार, कोरिया, जापानलगायतका देश पुगिसकेको कार्की बताउँछन् । बाहिरी देशमा उनी जहाजबाट जान्छन् तर नेपालमा भने ह्वील चियर मार्फत यात्रा गरिरहेको उनले बताए ।
यात्राका क्रममा कार्की गत शुक्रबार चितवनको खैरहनी आइपुगेका थिए । नेपालको मनाङ, हुम्ला र डोल्पा जिल्लाको यात्राका क्रममा उनी त्यसतर्फ लाग्न घरबाट आएका हुन् । खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले कार्कीलाई स्वागत गरी नगरपालिकाको तर्फबाट केही आर्थिक सहयोग गर्दै यात्रा सफलताको शुभकामना दिएका थिए ।
‘दुई वटा खुट्टा गुमाएपछि सीप गुम्यो’ कार्कीले भने, ‘शारिरिक अवस्था फरक बने पनि शान्तिको लागि विश्व यात्रामा निस्किएँ ।’ यात्राका क्रममा श्रीलङ्कामा आफ्नै स्वयंसेवकले केही रकम चोरी गरेको भए पनि अन्यत्र भने त्यस्तो नभएको उनले सुनाए । बाहिरी देशसम्म पुग्ने वातावरण भने एनआरएनएले व्यवस्था गर्ने गरेको कार्कीले बताए ।
नेपालमा अहिले दुई जना सहयोगीको साथमा उनी यात्राको क्रममा छन् । बाटो सहज भएको ठाउँमा ह्वील चियर मार्फत पुग्ने गरेको र बाटो अप्ठ्यारो हुँदा डोकोमा बोकेर जाने गरेको कार्कीले बताए ।

























