जैमिनी नगरपालिकाद्वारा ३६ घरविहीन परिवारलाई आवास हस्तान्तरण
चितवन, ०९ बैशाख । बागलुङको जैमिनी नगरपालिकाले घरविहीन नागरिकका लागि आवास निर्माण गरी ३६ परिवारलाई हस्तान्तरण गरेको छ। सुकुम्बासी, विपद्बाट विस्थापित तथा आर्थिक अभावका कारण घर बनाउन नसकेका परिवारलाई लक्षित गर्दै यो कार्यक्रम सञ्चालन गरिएको हो।
नगरपालिकाका अनुसार सुकुम्बासी १३, विपद्बाट घरविहीन भएका १२ र आर्थिक रूपमा कमजोर भई पुनर्निर्माण गर्न नसकेका परिवारका लागि घर निर्माण गर्ने योजनाअन्तर्गत हालसम्म ३६ घर बनाइ सकिएको हो। उपप्रमुख हरिहर शर्माका अनुसार घर निर्माणका लागि सुकुम्बासी परिवारलाई जग्गा खरिदसहित व्यवस्था गरिएको छ भने अन्यलाई निश्चित रकम उपलब्ध गराइएको छ। सुकुम्बासीलाई ३ लाख रुपैयाँ, विपद्पीडितलाई २ लाख ५० हजार र आर्थिक रूपमा कमजोर परिवारलाई २ लाख रुपैयाँ प्रदान गर्ने कार्यविधिअनुसार काम भइरहेको उनले बताए।
नगरपालिकाले पहिलो चरणमा तीन पुस्तासम्म घर नभएका परिवारलाई आवास उपलब्ध गराएको थियो भने दोस्रो चरणमा विपद् र आर्थिक अभावका कारण पुनर्निर्माण गर्न नसकेका परिवारलाई समेटिएको छ।
वडा नम्बर ४ की देउरूपा सार्कीले नगरपालिकाले घर बनाइ दिएपछि अब अरुको घरमा बस्नुपर्ने बाध्यता अन्त्य भएको बताइन्। उनले लामो समय अरुको आश्रयमा बस्दा धेरै समस्या भोग्नुपरेको उल्लेख गर्दै अहिले आफ्नै घरमा बस्न पाउँदा राहत महसुस भएको बताइन्।

























