महाकाली नदीमा बेपत्ता युवक मृत फेला
चितवन, ०९ बैशाख । कञ्चनपुरको महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवक मृत अवस्थामा फेला परेका छन्। अछामको साँफेबगर नगरपालिका–९ बुढाकोटका २५ वर्षीय मनिष कुँवर मंगलबार साँझ भीमदत्त नगरपालिका–११ स्थित महाकाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। सशस्त्र प्रहरी बलको नम्बर ३५ गण शैलेश्वरीबाट खटिएको गोताखोर टोलीले खोजी गर्ने क्रममा बुधबार दिउँसो उनको शव फेला पारेको हो।
कुँवर सुदूरपश्चिम विश्वविद्यालयको कानुन सङ्कायमा आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी थिए। उनी साथीहरूसँग नदीमा पौडी खेल्न गएका बेला अचानक डुबेर बेपत्ता भएका थिए। घटना लगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले खोजी सुरु गरेको थियो। निरन्तरको खोजीपछि गोताखोर टोलीले उनलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।
शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























