भारतमा एकैदिन ९२ हजार ९९४ जनामा कोरोना पुष्टि

काठमाडौँ, २२ चैत ।
भारतमा पछिल्लो २४ घण्टामा करिब ९३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय मिडियाहरुका अनुसार पछिल्लो पटक ९२ हजार ९९४ जना नयाँ संक्रमित फेला परेका हुन् ।
भारतमा साढे ६ महिनाको अवधिमा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । यसअघि १९ सेप्टेम्बरमा ९२ हजार ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि लगातार दुई दिन पाँच सयभन्दा बढी पुगेको छ । यसअघि गत शुक्रबार ७१३ जनाको ज्यान गएको थियो ।
भारतमा हालसम्म १ करोड २४ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा कोरोनाबाट सबैभन्दा धेरै महाराष्ट्र, पन्जाब, दिल्ली, मध्यप्रदेश, गुजरात र राजस्थान राज्य प्रभावित भएका छन् ।